![]() |
वासिङटनः रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले अफ्रिकी–अमेरिकी समुदायको जीवनस्तर युद्धग्रस्त क्षेत्रभन्दा पनि अमेरिकामा निम्नस्तरको भएको बताएका छन् ।
यस समुदायका मानिस निकै गरिबीयुक्त जीवन बाँचेको भन्दै यसप्रति आफू चिन्तित भएको उनले बताएका छन् । युद्ध क्षेत्रमा रहेका व्यक्तिको भन्दा पनि अफ्रिकी–अमेरिकीको जीवनस्तर खतरनाक भएको उनको भनाइ छ ।
ओहायोमा आयोजित एक र्यालीयालीमा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले यस्तो बताएका थिए । उनले अफ्रिकी–अमेरिकी समुदायका मानिसलाई सोधेका थिए, ‘तपाईंहरूसँग गुमाउनुपर्ने कुनै कुरा बाँकी छैन । तपाईंहरू निकै गरिबीमा बाँचिरहनु भएको छ । तपाईंहरूका समुदायका व्यक्तिले पढ्ने विद्यालय बेकारका छन् । तपाईंहरूसँग जागिर छैन ।’
उनले त्यस समुदायका व्यक्तिले संयुक्त राज्य अमेरिका भनेर सोच्न पनि नसकिने अवस्थामा जीवन गुजारिरहेको बताएका छन् । द्वन्द्वग्रस्त देशको भन्दा उनीहरू बस्ने सहरको जीवन निम्नस्तरको रहेको उनले स्पष्ट पारेका छन् । ट्रम्पले भने, ‘लामो समयदेखि अमेरिकाले युद्ध गरिरहेका क्षेत्रमा जानु र अमेरिकामा बस्नु तपाईहरूका लागि उस्तै छ । तपाईंहरू बाहिर सडकमा निस्किएका बेला गोली प्रहार गरिन्छ ।’
उनले हालै अमेरिकाका विभिन्न ठाउँमा अश्वेत व्यक्तिमाथि भएका गोली प्रहारका घटनाप्रति लक्षित गरेका थिए । उनले अफ्रिकी–अमेरिकी समुदायलाई उत्तरी क्यारोलिनामा र मिसिगनमा पनि यस्तै प्रश्न गरेका थिए । उनले भर्जिनियामा पनि यस्तै प्रश्न दोहोर्याएका थिए । उनले भने, ‘प्रति १० बालबालिकामा अफ्रिकी अमेरिकी समुदायका चार बालबालिका गरिबीमै बाँच्न विवश छन् ।
उनको भनाइको प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले आलोचना गरेकी छन् । ट्रम्पले अफ्रिकी–अमेरिकी समुदायको बदनाम गर्न खोजेको हिलारीले आरोप लगाइन् । यसबाट उनीहरूको सम्मान ध्वस्त गरेको आरोप छ ।
ट्रम्पले गैरकानुनी आप्रवासी विषयमा ‘न्यायपूर्ण तर कडा’ धारणा ल्याउने
एकरोन (ओहायो) : ट्रम्पले गैरकानुनी रूपमा अमेरिकी भूमिमा बसोवास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताएका छन् ।
ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरूका सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार दिएका हुन् ।
रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रूपमा अमेरिकामा बसोवास गर्दै आएका आप्रवासीलाई सामूहिक रूपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आएका थिए । उनको यो नाराले उनलाई रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने अवस्थासम्म पुर्याएको समेत बताइन्छ । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा आप्रवासीहरूप्रति नरम धारणा राख्ने अमेरिकी नागरिकको मन जित्ने कूटनीतिक प्रयास ट्रम्पले थालेकोे विश्लेषकहरूको बुझाइ रहेको पनि अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।
ट्रम्पले शनिबार स्प्यानिस समुदायका अगुवासँगको छलफलका क्रममा आफू अमेरिकामा गैरकानुनी रूपमा बसोवास गर्दै आएका आप्रवासीहरूलाई अमेरिकामा बसोवास गर्ने विषयमा विचार गर्न सकिने बताएका थिए । त्यस्ता व्यक्तिहरूले आपराधिक गतिविधि गरेका हुन नहुने र कुनै न कुनै रूपमा अमेरिकी कानुनलाई स्वीकार गर्दै कानुनी आधार प्राप्त गरेको हुनुपर्ने ट्रम्पले स्पष्ट पारेका छन् ।
छलफलमा सहभागी स्प्यानिस इजरायली नेतृत्व गठबन्धनका अध्यक्ष पास्चर मारियो ब्राम्निकले भने, ‘मैले बुझेअनुसार अमेरिकामा गैरकानुनी रूपमा बसोवास गर्दै आए पनि कुनै अनैतिक एवं आपराधिक गतिविधिमा संलग्न नभएका विदेशीलाई कानुनी रूपमा अमेरिकामा बस्न दिइने रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार ट्रम्पको धारणा हो ।’
ट्रम्पले सोमबार अमेरिकी सञ्चारमाध्यम ‘फक्स एन्ड फ्रेन्ड्स’लाई दिएको अन्तर्वार्तामा स्प्यानिक समुदायका धेरै अगुवासँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका थिए । अन्तर्वार्तामा ट्रम्पले आफूले कानुनलाई पालन गर्न र गराउन चाहेको ब्राम्निकले जनाए । आप्रवासी विषयमा कट्टर धारका जेफ सेसनले शनिबार अमेरिकी टेलिभिजन सिएनबिसीसँग रिपब्लिक नेता ट्रम्पले गैरकानुनी रूपमै अमेरिकामा बसोवास गर्दै आएका सम्पूर्ण एक करोड १० लाख विदेशीलाई फिर्ता पठाउने नभनेको तर आपराधिक धरातलमा अमेरिकी भूमिलाई प्रयोग गर्दै आएका मानिसविरुद्ध अभियान चलाउने बताएको खुलासा गरेका थिए ।
स्प्यानिस समुदायका व्यापारी र धार्मिक नेताले ट्रम्प समावेशी बनेको हेर्न चाहेकाले छलफल चलाएको भन्दै छिट्टै धारणा सार्वजनिक गर्ने बताए ।
![]() |


ConversionConversion EmoticonEmoticon