बोर्डको मुख्यालय भृकुटीमण्डमा राजधानीमा रहेका टुर अपरेटर, पर्यटन व्यवसायी, अभियान्ता र सञ्चारकर्मीहरूमाझ टीडीएसका अध्यक्ष कृष्णबहादुर महराले काठमाडौंदेखि हवाई तथा सडकमार्गबाट ती गन्तव्यमा सजिलै पुग्न सकिने बताए।
व्यवसायीहरूले परीक्षण गरेर सार्वजनिक गरेका गन्तव्यमा १६ दिने फारवेस्ट हेरिटेज पदमार्ग, १३ दिनमा भ्रमण गर्न सकिने अपी हिमालको आधार शिविर सम्मको पदायात्रा, रामारोसन सिमसार क्षेत्रको ६ दिने प्याकेज, खप्तडको आठदिने टुर प्याकेज, खप्तडदेखि मुगुको रारासम्मको ग्रेट हिमालयन ट्ेरल छन्। अध्यक्ष महराले धनगढी विमानस्थलबाट नजिकै पर्ने बद्रिया र शुक्लाफाँटाको टुर प्याकेज पनि कार्यक्रममा सार्वजनिक गरे। यी सबैलाई वाइल्ड बेस्ट नामकरण गरिएको छ।
‘अब पहिले जस्तो छैन सुदूरपश्चिम,’ होटल व्यवसायीसमेत रहेका अध्यक्ष महराले भने, ‘हामीले दक्षता भएका टुर गाइड, भरियाका साथै यी सबै क्षेत्रमा होटल, गेस्ट हाउसको पनि पर्याप्त व्यवस्था गरेका छौं,’ मध्य र सुदूरपश्चिममा पर्यटन क्षेत्रमा लागेका अग्रणी व्यवसायीहरूको मुनाफारहित गन्तव्य व्यवस्थापन गर्ने संस्था टीडीएसले काठमाडौंमा रहेर पर्वतीय तथा पदयात्रालगायत क्षेत्रमा काम गरिरहेका व्यवसायी र छाता संगठनका पदाधिकारीलाई तीन वटा र्याफ्टिङ तथा कायकिङ गर्न सकिने नदीहरूबारे पनि कार्यक्रममा जानकारी गराएको थियो।
यसमा ५ दिने सेती कर्णाली, चारदिने माथिल्लो कर्णाली र चारदिने भेरी कर्णाली नदीमा र्याफ्टिङ तथा कायकिङ गर्न सकिन्छ। टीडीएसले त्यस भेगमा धार्मिक तथा तीर्थयात्राका लागि पनि १ दर्जन बढी गन्तव्य भएको बताउँदै नेपालमा यस्तो अन्यत्र कतै नभएको दाबी गरेको छ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले सुदूरपश्चिमका व्यवसायीहरूले अब काठमाडौंका तारे होटलसरह पर्यटकलाई सेवा दिन सक्षम भएको बताए। ‘यसको प्रमाण भनेको पछिल्ला वर्ष होटल/रेस्टुरेन्ट क्षेत्रमा १० अर्ब रुपैयाँ हाराहारी निजी क्षेत्रले लगानी गरेको छ,’ हमालले भने। उनले त्यहाँका गाउँमा समेत होमस्टेमा स्थानीयहरूको आबद्धता बढ्दै गएको बताए।
ConversionConversion EmoticonEmoticon