A woman was severely beaten up in Banke inquire dowry

अमृता केसी, बाँकेमा दाइजो नल्याएको निहूँमा फेरि एक महिलामाथि कुटपिट गरिएको छ । मुलुकभरि नै घरेलु हिंसा विरुद्ध जनचेतना जगाउन सरकारी र गैरसरकारी संस्थाहरु सक्रिय भइरहँदा बाँकेको नेपालगंजमा दाइजो नल्याएको भन्दै एक महिला माथि कुटपिट भएको हो ।

नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १९ बालेगाउँकी १८ वर्षिया आसरुन जोलहालाई दाइजो नल्याएको भन्दै उनका श्रीमान, सासु, ससुरा र श्रीमानको काका पर्ने नसिम जोलहाले कुटपिट गरी गम्भीर घाइते बनाएका आसरुनका माइती पक्षले बताएका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ ।
साउन २३ गते कुटपिटबाट गम्भीर घाइते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुई वर्ष अघि मागी विवाह भएको आसरुनलाई पटक–पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान, सासु र सुसुराले कुटपिट गर्ने गरेका थिए । पटक पटक लाखौं रकम माग्दै आएका उनका परिवारले दाइजो नल्याए अरु व्यक्तिसंग विवाह गराइदिने भन्दै कुटपिट गरेका हुन् । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षीय वसिम जोलहा, उनकी सासु बाबादैया जोलहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न ससुरा सब्बिर जोलहा र काका नसिम जोलहा भने फरार रहेको प्रहरीले जनाएको छ । असरुनलाई उनका श्रीमानका काका नसिरले २०७१ सालमा मागी विवाह गराइदिएका थिए । तर अहिलेसम्म पनि माइतीले दाइजो नदिएपछि उनलाई मारिदिन श्रीमान, सासु र ससुरालाई काका नसिमले उचालेको पीडित असरुनले बताइन् । विगत ४ महिना देखि आफूलाई कुटपिट गरिरहेको उनको भनाइ छ ।

यस अघि साउन २० गते पनि असरुनलाई उनका परिवारले कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाउँदै माफी मागेपछि मिलापत्र भएको थियो । मिलापत्र भएकै दिन श्रीमानले आफ्नो ज्यान लिने भन्दै मोटरसाइकलले खुट्टामा ठक्कर दिएको पनि पीडितले बताइन् । असरुनलाई पुनः कुटपिट गरी सक्त घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा प्रतिवादी विरुद्ध मुद्धा दर्ता गरिएको असरुनका माईती परिवारले जनाएका छन् ।
Previous
Next Post »