Avalanche buried his father in dreams Himparwa Olympics

श्रावण २५, २०७३- फुपूल्हामु खत्री नेपाली जुडोमा सानैदेखि राम्रै खेलाडी हुन् । उनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेपछि भने सर्वत्र चर्चा पाइन् ।

उनी चार वर्षको छँदासम्म परिवारसँगै लेलेप–९, ताप्लेजुङमा थिइन् । उनको जन्म त्यहीँ भएको थियो । बुबा दोर्जे खत्री पर्यटन व्यवसायमा कार्यरत थिए । केहि वर्ष भरियाको रुपमा रहेका दोर्जे पछि गाइड बने । उनको ६ महिना काम हुन्थ्यो, बाँकी ६ महिना घरमै बिताउँथे । किनभने नेपालको पर्यटकीय सिजन बाह्रै महिना चल्दैन ।

दोर्जेको परिवार ताप्लेजुङबाट राजधानी छिर्‍यो । बासस्थान बन्यो, नयाँबजार । १७ वर्षअघिका दिन सम्झदै फुपुल्हामु भन्छिन्, ‘भाइ (छिरिङ दोर्जे) पेटमा हुँदा ममीलाई जन्डिस थियो । त्यसैले सबै काम गरेर बुबाले हामीलाई स्कुल पठाउनुहुन्थ्यो । उहाँ सुरुमा भरिया हुनुहुन्थ्यो । विस्तारै गाइड हुनुभयो । नौपटक सगरमाथा पनि चढ्नुभयो ।’

दोर्जेका पत्नी फुपूथाक्चे शेर्पाले खाजा–नास्ताको सामन्य होटल सुरु गरिन् । होटल नजिक जुडो सिकाउने मार्सल आर्ट्स केन्द्र थियो/छ । जुडो खेलाडीहरुको खाजा खाने गन्तव्य त्यही होटल बन्यो । एकदिन जुडो खेलाडी लीला अधिकारी र चन्द्र डंगोल त्यहाँ पुगेका रहेछन् । ‘उहाँहरु जुडो खेल्न कोरिया जान लाग्नुभएको रहेछ । उहाँहरुले बुबालाई छोरीलाई पनि जुडो खेलाउनू पछि ठूल्ठाला गेम खेल्न पाउँछ, नाम कमाउँछ भन्नुभएछ । म त्यही थिएँ । तर मलाई केहि थाह थिएन । बुबाले सही ठानेर मलाई जुडो खेल्न पठाउनुभयो,’ २१ वर्षीय फुपूल्हामुले भनिन् ।

‘सुरुमा गाह्रो भयो । जीउ पूरा दुख्थ्यो । खेल्नै नजाउजस्तो हुन्थ्यो,’ फुपूले नौ वर्षअघिको अनुभव सुनाइन्, ‘जुडो बुझ्नै दुई–तीन वर्ष लाग्यो । त्यसपछि बल्ल खेलाडी बन्छु भन्ने लाग्यो ।’ स्कुल गेममा सिनियरसँग पछारिँदै उनले खेल जीवन सुरु गरेकी थिइन् । त्यसबेला सरोज महर्जन, रमेश मगर, लीला अधिकारी, इन्दिरा राई, देवु थापा, सुशीला अधिकारीलगायतका खेलाडी उत्कृष्ट थिए । ‘मलाई पनि उहाँहरुजस्तै खेल्न पाए, हुन पाए कस्तो हुन्छ भन्ने लाग्थ्यो,’ उनले भनिन् ।

त्यसबेला लोकप्रिय रहेकी रन्जु राईलाई हराएर उनी पहिलोपटक राष्ट्रिय टिममा छनोट भइन् । सुरुमा ५२ केजी, त्यसपछि ५७ हुँदै फुपू अहिले ६३ केजीमुनिको स्पर्धामा खेल्छिन् र यसैमा १२ औं सागमा स्वर्ण जितेकी हुन् । दक्षिण एसियाली खेलकुदको जुडोमा स्वर्ण जित्ने उनी पहिाले नेपाली महिला हुन् ।

जयपुरमा ६ वर्षअघि भएको राजीव गान्धी जुडो च्याम्पियनसिपमा काँस्य हात पार्दै सिनियर जुडोको यात्रा थालेकी उनले दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुईपटक रजत जितेकी छन् । सागपछि हंगेरी ओपनमा काँस्य पनि हात पारेकी उनले जुनियरमा एक स्वर्णसहित चार पदक हात पारेकी छन् ।

‘रमाइलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘बुबाको सपना मैले ओलम्पिकसम्म खेलोस् भन्ने थियो, अहिले पूरा गर्दैछु,’ उनले रियोतर्फ लाग्नु अघि भनेकी थिइन्, ‘म जाडोमा म्याट चिसो हुन्छ भनेर कतिपटक खेल्नै जाँदिन थिएँ । साह्रै चन्चले थिएँ । नयाँबजारमा मलाई चिन्नेहरु पहिले सिंगान चुहाउँदै हिँड्थी, सागमा गोल्ड मेडल पो जितेर ल्याई भन्छन् । रमाइलो लाग्छ ।’

१२ औं सागको सफलतालाई उनले सुरुवात मात्र हो भनेकी थिइन् ।
‘म अहिले जहाँ छु यो सबै मेरा गुरु र सम्पूर्ण नेपालीको कारण हो । मेरो कर्म यही (जुडो) हो । जुडोले मलाई प्लेटफर्म दियो र भविष्यको बाटो देखायो । कतिसम्म खेल्छु भन्ने निश्चित छैन । तर, समस्या आयो भनेपनि समाधान गरेर खेल्नेछु । जुडोले नाम, इज्जत दियो, यसलाई छोड्न सक्दिन’ उनले भनिन् ।

जुनियर– सिनियरका स्कुल, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै खिारिएर अहिलेको अवस्थामा आइपुगेको उनको अनुभव छ । ‘मुख्यत: आफ्नो मिहिनेत हो, आफैले मिहिनेत गरेन भने केहि सम्भव छैन । मिहिनेत, लगन र आफूमा केहि गर्छु भन्ने जुनून् हुनुपर्छ र त्यो जुनून्लाई देखेर कोचले मौका दिनुपर्छ । यी अवसर मैले पाएँ । यस्ता मौका नपाएको भए म राष्ट्रिय प्रतियोगितामै सीमित हुन्थें,’ उनले भनिन्, ‘नपाली खेलाडी धेरै मिहिनेती छन् । त्यसैले प्रशिक्षणमा उनीहरुको सीप देखाउन अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणको खाँचो छ । मैलेजस्तै एक्सपोजर अरुले पनि पायो भने नेपाली खेलकुद धेरै माथि पुग्नसक्छ ।’


नेपाली प्रतिभावान्
‘नेपालीहरु निक्कै मिहिनेत गरेर प्रशिक्षण गर्छन् । तर, ट्रेनिङका लागि चाहिने इक्विप्मेन्ट र सुविधा अत्यन्त न्युन छ । त्यसैमा हामी पछाडी छौं । सामाग्री र सुविधा उपलब्ध गराए नेपाली खेलाडीले अझै धेरै गर्नसक्छन् । नेपालीहरु प्रतिभावान् छन्,’ फुपूले भनिन् ।

ओलम्पिक छात्रवृत्तिअन्तर्गत बुडापेस्ट (हंगेरी) मा ५ महिना विशेष प्रशिक्षण गरेकी उनी भन्छिन्, ‘बुडापेस्ट र काठमाडौंको सुविधा तुलना नै गर्न मिल्दैन । भूकम्प र नाकाबन्दीले तनाव दिएको बेला पनि हामीले सागमा स्वर्ण जित्यौं । रजत र काँस्य अझ धेरै थप्यौं । यसलाई राम्रै मान्नुपर्छ । सरकारले खेललाई प्राथमिकता नदिँदा हामी पछाडि पर्दै गएका छौं ।’

बुडापेस्टको प्रशिक्षणबाटै उनको खेल नयाँ उचाईमा पुगेको हो । ‘युरोपका उत्कृष्ट खेलाडीसँग निरन्तर खेल्दा मेरो डर हराउँदै गयो । नत्र पहिले खेल्ने बेला मानसिक दबाबमा हुन्थें र सानो गल्ती गरेपछि हारिन्थ्यो । अहिले धेरै गल्ती सच्याएकी छु,’ आत्मविश्वासी देखिएकी उनले भनिन् । उनलाई एसियन च्याम्पियनसिप, ग्राँप्रि र वल्र्ड च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिताको अनुभवले पनि परिपक्क बनाएको हो ।

१२ औं सागमा स्वर्ण जितेपछि सेलिब्रिटी भइयो भन्ने उनलाई लाग्दैन । ‘मलाई त्यस्तो लाग्दैन, नर्मल नै छुजस्तो लाग्छ । साथीहरु पनि ट्वाँ पर्छन्, तँ त सेलिब्रिटी हो भन्छन् । ‘म तिमीहरुजस्तै हो, पहिलेकै फुपू हो,’ भन्छु । साथीहरु अलि स्ट्यान्डर्ड भएर हिँड् भन्छन् । तर, म पहिलेकै फुपू हुँ,’ उनले बताइन् ।

बुबाको सपना र सगरमाथा
मिहिनेत गरेपछि प्रतिभा निस्कनेमा विश्वास राख्ने उनले बुबाको घर अहिलेसम्म देखेकी छैनन् । उनको हजुरआमा तिब्बती हुन् । बौद्ध संस्कृति पछ्याएको परिवारका उनी नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको फर्म घरमा थन्क्याएर हंगेरी लागेकी थिइन् । पिपुल्स कलेजमा बीबीबीएस अध्ययनरत उनको परिवार दिदी डोमाको आम्दानीमा निर्भर छ । डोमाले बुबाको मृत्यु भएपछि त्यही कार्यालयमा एकाउन्टेन्टको काम पाएकी थिइन् ।

चैत, २०७० मा काठमाडौंमा दक्षिण एसियाली जुडो च्याम्पियनसिप भएको थियो । त्यसको तयारीमा फुपू होटलमा थिइन् । ‘बुबाले फोन गरेर ‘पख् तँलाई जुडोमा मात्रै टाइम दिने, हामीलाई नदिने, भेट्न पनि नआउने,’ भन्नुभयो । म छक्क परें,’ बुबासँगको अन्तिम भेटबारे फुपूले सुनाइन्, ‘गुरुलाई भनेर बुबालाई भेट्न गएँ, पूरा दिन बुबासँग बिताएँ । उहाँको कामको लागि मैले नै स्कुटर चलाएर गएँ । राम्रो खेल भनेर पकेट मनी दिनुभयो । म होटल फर्किएँ, बुबा दसौंपटक सगरमाथा चढ्न भनी भोलिपल्ट (२२ चैत) बेसक्याम्पतिर लाग्नुभयो । वैशाख ५ मा हिमपहिरोमा पर्नुभयो । यसबीच मैले रजत जितेको थिएँ । अब उहाँ त हुनुहुन्न तर म उहाँको सपना पूरा गर्न ओलम्पिक खेल्दैछु, जुन मेरो पनि सपना हो ।’

उनी ओलम्पिक छनोटमा भने असफल भएकी थिइन् । तर, ‘वाइल्ड कार्ड’ मार्फत् उनले आफ्नो र बुबाको सपना पूरा गर्ने अवसर पाएकी हुन् । उनले बुबाको पथ पछ्याउँदै सगरमाथा आरोहणको सपना पनि बुनेकी छन् । ‘त्यो सपना कहिले पूरा हुन्छ, थाह छैन,’ उनले भनिन् ।

के भन्छन् प्रशिक्षक ?
फुपूलाई एक वर्षयता देबु थापाले प्रशिक्षण दिँदै आएकी छन् । थापाले आफ्नी चेलीसँग ५ मिनेट खेल्ने आस गरेकी छन् ।

‘जुनै अभिभावको चाहना पनि स्वर्णपदक जितोस् भन्ने हुन्छ । तर हाम्रो स्तरबाट धेरै गाह्रो छ,’ ११ औं सागमा काँस्य जितेकी देवुले भनिन्, ‘आफैले पूरा गर्न नसकेको लक्ष्य मेरी चेलीले पूरा गर्छ जस्तो लाग्छ । उनको खेलमा स्पिड छ, वैकल्पिक टेक्निक छ । त्यसैले उनले ओलम्पिकमा केहि गर्छ जस्तो लाग्छ ।’ थापा बेइिजिङ ओलम्पिक २००८ का खेलाडी पनि हुन् । त्यसबेला ५ मिनेट टिक्ने उनको लक्ष्य अधुरै रहेको थियो ।
फुपूलाई कठिन प्रतिद्वन्द्वी
फुपूले रियो ओलम्पिकको पहिलो चरणमा क्युबाकी मरिसेट इस्पिनोसासँग मंगलबार नेपाली समयअनुासर १८:४५ बजे प्रतिस्पर्धा गर्दैछिन् ।
यो स्पर्धामा रियोमा ३६ खेलाडी सहभागी छन् । क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्नेछिन् । तर उनलाई त्यो गर्न सजिलो भने छैन । क्युबा जुडोमा बलियो देश हो ।युरोपियन टुरका प्रतियोगिता खेलेपछि रियो पुगेकी इस्पिनोसाले पान अमेरिका जुडो च्याम्पियनसिप २०१३ र २०१४ मा स्वर्णपदक जितेकी थिइन् । २६ वर्षीय उनी २०१६ मा भने रजतमा रोकिएकी थिइन् ।
रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकेकी फुपू यसमा ५ मिनेट (पूरा खेल अवधि) टिक्ने लक्ष्य बनाएकी छन् । ‘हाम्रो लागि ओलम्पिक खेल्नु नै ठूलो हो । यस्तो अवसरमा ५ मिनेट टिक्ने प्रयास गर्नेछु र यो नै मेरो लक्ष्य हो । पूरा अवधि खेल्नसके नतिजा (सकरात्मक) पनि आस गर्न सकिन्छ,’ उनले भनिन् । उनकी प्रशिक्षक देबु थापाले आठ वर्षअघि बेइजिङमा तीन मिनेट पनि टिकेकी थिइनन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा फुपूको सफललता :

Previous
Next Post »