![]() |
हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सुनमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । 'जागिरबाट बिदामा आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई', उनले बिलौना गरिन्, '१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।'
सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त पनि सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा पनि रुवावासी छ ।
सोमबार नुवाकोटामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीय निशाको निधन भएपछि इनरुवा र इटहरी यतिबेला शोकमा छ । निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरूमा रुवाबासी छ । निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् ।
निशा गत फागुनदेखि फेस नेपाल नामक गैरसरकारी संस्थामार्फत गोरखाको श्री दिवास, चुम्पेत र छेकम्पार गाविसको स्वास्थ्य चौकीमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् । माथिल्लो गोरखाको दुर्गम गाविसमा ६ महिना काम गरेकाले सुगम ठाउँमा सरुवा मिलाउन निशा फेस नेपालको काठामाडौंस्थित केन्द्रीय कार्यालयमा आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
निशाको निधनको खबर सुनेपछि उनकी आमा हिमाली शाक्य बेहोस भएकी छन् । बाबु नरेन्द्र तामाङ छोरी पठाउँदा लागेको ऋण तिर्न वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । घरमा भएका दुई नाबालक भाइहरू पनि दिदीको मृत्युको खबरले शोकाकुल छन् ।
सानै उमेरदेखि लगनशिल र मेहनती निशाले एसएसली पास गरेपछि स्टाफ नर्स पढ्ने इच्छा गरेकाले बाबु नरेन्द्रले इनरुवाको महेन्द्र चोकमा रहेको एकतले घर र ७ धुर जग्गा बेचेर जनकपुरमा स्टाफ नर्स पढाएका थिए । रिसाउँदा पनि हासीहासी बोल्ने भान्जी सानैदेखि मामाघरमा बसेका कारण उनको निधनले मावली परिवारलाई समेत ठूलो घात पुर्याएको निशाका मामा तोरण शाक्यले बताए । निशाकी माइजू हीरा शाक्यले दुर्घटना हुनुभन्दा एक घन्टा अगाडि भान्जीले फोनमा हप्ता दिनपछि घर आउँछु भनेको बताइन् ।
कक्षा १ देखि ७ सम्म ओखलढुंगा बजारमा रहेको मावलीघरमा बसेर अध्ययन गरेकी निशाले इनरुवाको भगवती उच्च माविबाट एसएलसी पास गरेकी थिइन् । चार वर्ष अगाडि जनकपुरबाट स्टाप नर्स पास गरेर दुई वर्षसम्म निशाले ओखलढुंगाको पारामेडिकल कलेजमा अध्यापनसमेत गरेकी थिइन् ।
माथिल्लो गोरखाका तीन दुर्गम गाविसमा रहेका स्वास्थ्य चौकीमा सुपरभाइजरका रूपमा काम गर्दै आएकी निशा सोमबार सुगम क्षेत्रमा सरुवा मिलाउन हेलिकोप्टरमा काठमाडौं आउँदै गरेको फेस नेपालका कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । ६ महिनाको छोटो समयमा असल र कर्तव्यनिष्ठ कर्मचारीको पहिचान बनाएकी निशाको निधनले संस्थालाई समेत अपुरणीय क्षति पुगेको उनले बताए । निशाको निधनपछि आमा हिमाली शव बुझन मंगलबार काठमाडौं गएकी छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon