India cocaine, a porter in Kathmandu


भाद्र ८, २०७३- भारतमा पक्राउ परेकी कोकिन भरियाको बयानको आधारमा काठमाडौंको ठमेलमा बसेकी बोलेभियन महिला पक्राउ परेकी छिन् ।

कोकिन बोकेर इथोपियाबाट दिल्ली हुँदै काठमाडौं आएकी बोलेभियन महिला तोदोविच गोन्जालेजलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरे पनि कोकिन भने फेला परेन । कोकिन भारतीय भरियाले बोकेर लगिसकेका थिए ।

तीन किलो कोकिन बोकेर भारत जाँदै गरेकी नागाल्यान्डकी रोजी खासुङ भारतको बेहलियामा पक्राउ परेपछि गोन्जालेजको बारेमा सूचना आएको थियो ।

ब्यूरो स्रोतका अनुसार भारतमा पक्राउ परेकी रोजीले बयानमा नेपालको काठमाडौंमा रहेकी एक महिलाले आफूलाई सो कोकिन दिएको खुलाएपछि भारतको लागुऔषध ब्यूरोले नेपालको लागुऔषध ब्यूरोलाई जानकारी गराएको थियो ।

रोजीले आफू स्थलमार्ग हुँदै काठमाडौं गएर ठमेलको काठमाडौं सिटी होटलमा बसेको र त्यही होटलमा २०१ नम्बरको कोठामा बस्ने महिलाले कोकिन दिएपछि भदौ ७ मा फर्किएको बयान दिएकी थिइन् ।

सूचनाको आधारमा ब्यूरोको टोली ठमेलको कोठमाडौं सिटी होटलको २०१ नम्बरको कोठामा पुग्दा गोन्जालेज फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

अधिकांश कोकिनका भरिया काठमाडौंमा पक्राउ पर्ने गरे पनि गोन्जालेजको बारे भने ब्यूरोले जानकारी पाउन सूचना पाउन नसक्दा कोकिन भारत पुग्यो ।

भारतमा कोकिनसहित पक्राउ परेकी रोजीले खुलाएको सूचना बेलैमा नेपालको प्रहरीले पाउँदा बोलेभियन महिला स्वदेश फर्कन भने भ्याइनन् ।

पक्राउपछि उनको विवरण हेर्दा उनी भदौ ५ मा ब्राजिलबाट दिल्ली हुँदै हवाईमार्गबाट काठमाडौं आएको खुलेको थियो । उनी कोकिन बुझाएपछि लामै समय काठमाडौंमा बस्ने योजनामा थिइन् । ब्युरो स्रोतका अनुसार उनी अझै १३ दिन काठमाडौंमा बस्ने योजनामा रहेकाले यो बीचमा पुन: अर्को खेप कोकिन काठमाडौं आउने प्रहरीको आशंका छ ।

ब्यूरोले साउन २६मा तीन किलो ५४ ग्राम कोकिनसहित बोलेभियन महिला रोजी गुड्डी र थाइ महिला वारान्या काउपिकुललाई पक्राउ गरेको थियो ।

रोजी वारान्याको अनुसन्धानमा उनीहरुलाई ब्राजिलमा रहेका बोलिभियन नागरिक क्लाउडो निग्रो र नाइजेरियन रेम्मीले नेपाल पठाएको खुलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले रोजी र गोन्जालेज एकै समूहका सदस्य रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय कोकिन तस्करीमा सक्रिय नाइजेरियन समूहले ब्राजिल र पेरुको कोकिन अमेरिकी र युरोपियन मुलुक पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाउने गरेका छन् ।

पेरु, ब्राजिल, भारत, थाइल्यान्ड, मलेसिया र पाकिस्तानमा रहेका नाइजेरियाली समूहले विभिन्न देशका सहयोगी परिचालन गरी हवाईमार्गबाट कोकिन नेपाल भित्र्याएर यहाँबाट स्थल र हवाईमार्ग हुँदै युरोपियन र अमेरिकी मुलुक पुर्‍याउने गरेको ब्यूरोको अनुसन्धानमा खुलेको थियो ।

Previous
Next Post »