भूपेन्द्रजस्तै यहाँका आधा दर्जनले पुर्ख्याैली पेसालाई निरन्तरता दिएका छन् । सबैलाई एउटै पिरलो याकलाई खुवाउने घाँसको छ । समुद्र सतहदेखि चार हजार छ सय मिटरको उचाइमा छ यो याकखर्क । यसको मास्तिर नम्खुलेक ठडिएको छ । यो नीलगिरी र तिलिचो हिमालको मुस्ताङतर्फको आधार शिविर हो । तलतिर घाँस नभेटिएपछि बिहान ३ बजेदेखि नै कराउँदै याकहरू नम्खुलेकतिर उक्लन थाल्छन् । बाच्छाहरू गोठमै बस्छन् । माउ याक अघाएपछि ३/४ घण्टा उक्लिएको बाटो झर्दै बाच्छालाई दूध चुसाउन गोठमै फर्कन्छन् ।
‘घाँस खोज्दै माउहरू धेरै टाढा जाने भएकाले याकको हूल लिन लेकमै पुग्नुपर्छ,’ यहाँका एक फुर्तिला गोठाला पेम्बा गुरुङ भन्छन्, ‘लिन नजाऊँ बाच्छा भोकाएर हैरान, जाऊँ फेरि बेलुका आधा दिनै हिंडेर सबैलाई गोठमै ल्याउनुपर्छ ।’ हिउँ पर्दा गोठ वरिपरि नै घाँस पलाउने भएकाले त्यतिबेला भने याक चरनका लागि टाढा जानु नपर्ने उनले बताए ।
‘हामी गोठालालाई हैरान छ । कहिलेकाहीं बथानबाट भागेर याक टाढा पुग्छन्, दिनभरि हिंडेको हिंड्यै गर्नुपर्छ,’, उनले भने, ‘लेकलेकै अन्दाजमा खोज्नुपर्छ । घाँस नभएर जति टाढा गए पनि याक अघाउनै पाउँदैनन् ।’ याक लेकमा हुने घरपालुवा गाई प्रजातिको पशु हो । याक र गाईकै प्रजनन्बाट झोप्पा जन्मन्छन् । यो गोरुको रूपमा बारी जोत्ने काममा प्रयोग हुन्छ । याक पालनबाट मासु र यसको रौंबाट तयार हुने पस्मिना नै यहाँका कृषकको आम्दानीका मुख्य स्रोत हुन् । याकको मासु पर्यटकका लागि यहाँका होटल र रेस्टुरेन्टमा बिक्री गरिन्छ ।
कृषकहरूले रौंबाट बनाइएका पस्मिनाका सामान पनि बिक्री गर्दै आएका छन् । पछिल्ला वर्षमा वयस्क याकको आलो रगत खाने चलन निकै बढेको छ । मुस्ताङमा कोबाङ र जोमसोमको लेक याकपालनका लागि प्रख्यात छ ।
कोबाङको धौलागिरी हिमाल आधार शिविरका गाउँमा धेरै याकका गोठ छन् । ‘याकले खाने त घाँस नै हो तर हिउँ नभई बाँच्नै सक्दैनन्,’ जोमसोमका अर्का कृषक टिकबहादुर थकाली भन्छन्, ‘पहिले हिउँ तलतलसम्मै पर्थ्याे । याकलाई चरनमा समस्या थिएन ।
अहिले वर्षभरि हिउँले सेताम्मे हुने लेकहरू कालै पहाड बनेका छन् ।’ घाँस छ भन्दैमा अलि बेंसीतिर ओराल्यो भने गर्मीले याक बाँच्नै नसक्ने उनले बताए । याकलाई घाँस र हिउँ दुवै चाहिन्छ ।
‘हिउँमै रमाउने भएकाले याक हिमाली पशु भएको हो,’ उनले भने । पहिले हिउँदमा जोमसोम र तल्लो मुस्ताङमा याकलाई सार्ने चलन थियो । तर, अहिले केही वर्षयता तापक्रम वृद्धि भएकाले याकलाई गोठ सार्ने चलन नै हराउन थालेको कृषकहरू बताउँछन् ।
ConversionConversion EmoticonEmoticon