श्रावण २४, २०७३- भारतीय पर्यटकहरूले मानसरोवरको यात्रा गर्न नेपालको बाटो उपयुक्त भएको बताएका छन् । उनीहरूले भारतीय मार्गको तुलनामा नेपाल बाटो सहज भएको समेत जनाएका छन् । यहि सहजताका कारण उत्तराखण्डका व्यवसायी जीसी पाण्डेयले भारतीय बाटो हुँदै मानसरोवर यात्रा गर्ने दशकअघिको सपना नेपालबाट हाल पुरा भएको बताए ।
उनले भने, ‘कुनै बेला अनुमतिको प्रक्रिया नमिल्दा त कुनै बेला समय अभावका कारण म त्यहाँ पुग्न सकिनँ ।’ भारतीय बाटो भएर यात्रा गर्दा लाग्ने समय तथा सरकारी प्रक्रियाका झन्झट छाडेर उनी यसपालि नेपालको बाटो हुँदै मानसरोवर पुगेर फर्किएको बताए ।
पाण्डेसहितको ८ भारतीयको टोली असार अन्तिम साता १४ दिनको मानसरोवर यात्रापछि महेन्द्रनगर हुँदै फिर्ता भएको हो । नैनीतालस्थित एक टुर एन्ड ट्राभल्सले उनीहरूलाई मानसरोवर यात्राको व्यवस्थापन गरेको थियो । टोली नेपालगन्जसम्म आफ्नै सवारीमा र त्यहाँबाट हिल्सासम्म हवाई यात्रापछि कतै पैदल त कतै बस यात्रा गरी ६ दिनमा मानसरोवर पुगेका थिए ।
उत्तराखण्डको हल्द्वानी, नैनीताल र अल्मोडाका ती यात्रीसंँगै आन्ध्र प्रदेश, गुजरात, विहार, उडीसा र उत्तरप्रदेशका गरी सय जना भारतीय टोलीले समेत मानसरोवरको यात्रा गरे । मानसरोवर यात्राका लागि भारतको तुलनामा नेपालतर्फको बाटो सजिलो, कम खर्चिलो र छिटो पुगिने भएका कारण भारतीयहरू यही बाटो प्रयोग गर्न थालेका हुन् । ‘नेपालको बाटो भएर यात्रा गर्दा भारतको तुलनामा आधाभन्दा कम समय लाग्छ,’ कुमाउ विश्वविद्यालयकी प्राध्यापक गंगा विष्टले भनिन्, ‘खर्च पनि कम लाग्ने रहेछ ।’ विष्ट पाण्डेयकै टोलीमा मानसरोवर यात्रा गरी फर्केकी हुन् ।
मानसरोवर यात्राका लागि भारतको कुमाउ विकास मण्डलले सरकारी टोली नै पठाउने गर्छ । बर्सेनि सयौं जना यही टोलीमा समावेश भएर यात्रा गर्छन् । पाण्डेयका अनुसार त्यहाँबाट महाकाली नदीको किनारै किनार मानसरोवर यात्रा गर्न सकिन्छ । उक्त क्षेत्रबाट यात्रा गर्दा कम्तीमा पनि ४ सातासम्म लाग्ने गर्छ । पैदल यात्रा बढी भएकाले जोखिमसँगै समय पनि बढी लाग्ने यात्रीहरू बताउँछन् । ‘मौसम खराब भएका कारण जाँदा २ दिन ताक्लाकोटमा र फर्किदाँ ३ दिन हिल्सामा जहाज कुर्दै बस्नुपर्यो,’ पाण्डेयले भने, ‘नत्र ११/१२ दिनमै फर्किन सकिन्थ्यो ।’ हवाई यातायातभन्दा पनि बस तथा साना सवारी साधनहरू चल्ने खालको बाटो निर्माण गर्न सके नेपागन्ज–हिल्सा मार्ग नै मानसरोवर यात्राका सजिलो मार्ग हुने उनले बताए ।
गड्डाचौकी नाका भएर मात्रै पनि यो पटक अत्यधिक संख्यामा मनसरोवर यात्री भित्रिएको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए । उत्तराखण्ड, उत्तरप्रदेश र गुजरातका टुर एन्ड ट्राभल्सहरूले यही नाकाबाट यात्रीहरू पठाएको उनले बताए । ‘यो पटक मानसरोवर यात्रीहरू यहाँको नाकाबाट विगतको तुलनामा बढी नै भित्रिए,’ उनले भने, ‘फर्केपछि अधिकांशले यहाँको बाटो सजिलो, छोटो र कम खर्चिलो भएको प्रतिक्रिया दिए ।’
ConversionConversion EmoticonEmoticon