![]() |
‘दुई वर्षमा लात्ती र मुडकी कति खाइयो त्यो मलाई थाहा छ । यस पल्ट अस्पताल नै भर्ना हुने गरी कुटपीट भयो,’ दाईजो नल्याएको निहुँमा यातनाले थला परेपछि भेरी अञ्चल अस्पतालको बेड नम्बर ११७ मा भर्ना गरिएकी आसरुनले कान्तिपुरसंग भनिन्, ‘हामीजस्ता पीडितका पक्षमा समाजलेसमेत सहयोग गर्दैनन् । मिलापत्रमा बढी जोड दिइन्छ । दाईजोको निहुँमा कुट्नेलाई पहिले कारवाही भएको भए यो दिन देख्नु पर्ने थिएन ।’
समुदायका अगुवाले मिलापत्रमा जोड दिनुको कारण एक वर्षीय छोरा पनि हो । ‘यो बालकलाई लिएर कहाँ जान्छौ, कसरी पाल्छौ ? भन्ने प्रश्न उठाइयो' उनले सुनाईन ।
‘चार लाख रुपैयाँ दाईजो माग्दै पतिले र सासु ससुराले कुट्थे । म बच्चा लिएर रुदै जयसपुरस्थित माईती घर जान्थें । माईती घरले त्यति धेरै रकम दिन सक्ने कुरै थिएन, केही दिनमै फेरि फर्किनु पर्थ्यो,’ आसरुनले भनिन्, ‘अहिलेसम्म धेरै यातना पाईयो । जोसुकै हुन मलाई यातना दिनेलाई कुनै पनि हालतमा कारवाही हुनुपर्छ ।’
नेपालगन्ज १९ बालेगाउँका वसिम जोलहाले दुई वर्षअघि दाइजो नचाहिने भन्दै आसरुनसंग विवाह गरेका थिए । सासु बाबादैया, ससुरा सब्बिर र काका ससुरा नसिमले पनि बुहारीभन्दा दाईजो ठूलो नभएको बताएका थिए । ‘त्यो बाचा एक वर्षसम्म पनि टिकेन । छोरीलाई त्यही निहुँमा कुटपीट गरिरहे । सुरुमा छोरी मान्छे सहनु पर्छ भनेर सम्झायौँ । तर, उनीहरु कहिल्यै सुध्रिएनन्,’ आसरुनकी आमा इनामनी जोलहाले भनिन्,‘सानातिना यातना सहनु पर्छ भनेर सिकाउनु गलत रहेछ । पीडकहरुको झन मनोबल बढ्यो र छोरीलाई यस्तो अवस्थामा पुर्याए ।’
विवाह हुँदा आसरुनका परिवारले दाइजो वापत साईकल, बेडबिस्तरा र घरेलु समाग्री दिएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण नगद दाइजो दिन नकसकेको पीडितका दाजु समसाद अलीले बताए । ‘हामी आफै मजदुरी गरेर परिवार पाल्दै आएकाले बहिनीलाई दाइजो दिन सकेनौ । विवाह अघि उनीहरुले दाइजो नलिने भनेपछि विवाह गरि दिएका हौँ,’ बहिनीलाई अस्पताल भेट्न आएका उनले भने,‘उनीहरुले धेरैपल्ट बहिनीलाई कुटे । चुप लागेर बस्दा यो दिन आयो ।’
आसरुनमात्रै होईन हिंसाका घटनाहरुमा यसैगरी मिलापत्र हुँदा कतिपय महिलाले ज्यान गुमाएका घटना पनि छन् । प्रहरीले पति वसिम जोलहा, सासु बाबादैया जोलहालाई पक्राउ गरेको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon