![]() |
→ चाहे त्यो राजनीति होस् वा साहित्यिक आफ्नो आचरणलाई अनुभवका आधारमा ढाल्ने प्रयत्न गरेको छु । मलाई लाग्दछ कि सामाजिक— राजनीतिक—आर्थिक क्षेत्रमा जुन नियम कानुन अथवा तर्क लागू हुन्छ त्यो कला साहित्यको क्षेत्रमा एकदम लागू हुँदैन ।
→ साहित्य दलगत हुनुपर्दछ । तटस्थ साहित्य मुर्दावाद । साहित्यका महारथीहरू मुर्दावाद । साहित्य सर्वहारावर्गको आम उद्देश्यको एक अंग हुनुपर्छ ।
साहित्य र राजनीतिमा समान उचाइ बनाएका छन्, बीपी कोइरालाले । 'परिमल रजत जयन्ती'का अवसरमा बीपीले दिएको सम्बोधनमा राजनीति र कलाबीचको सम्बन्ध, कलाको उद्देश्य, कलाकारको स्वतन्त्रता, आधुनिकतावाद, सम्प्रेषण आदि महत्वपूर्ण विषयबारे चर्चा गरिएको छ । यो सम्बोधन आदर्श सामयिक संगालो २०२७ मा प्रकाशित भएको हो । यसको संकलन जनकराज सापकोटाले गरेका हुन् । — प्रधान सम्पादक
***
साथीहरू,
सबभन्दा पहिले त मलाई आफ्नो हिन्दीका निम्ति यहाँहरूसँग क्षमा माग्नु छ । मेरो विचारको आदान–प्रदान जति आवश्यक पर्छ, त्यतिका निम्ति मात्र ठीक छ । शायद मेरा लागि हिन्दुस्थानमा यति नै पर्याप्त हुनेछ । तर, हिन्दी साहित्यकारहरूमाझ उहाँहरूकै भाषामा आफ्नो विचार व्यक्त गर्न लाग्दा मलाई असजिलो भइरहेछ । हिन्दी साह्रै सरल भाषा हो । जनजीवनको साधारण अवस्थामा विचारको आदान–प्रदानका लागि, खालि बोलीचालीको उपयोगिताका दृष्टिमा । तर, साधारण दैनिक तहबाट यी मानिस उठ्नासाथ गैर हिन्दी भाषाभाषिकाका लागि यसको जटिलता प्रकट भइहाल्छ । १५ वर्षदेखि हिन्दी भाषाव्यवहार गर्ने अवसर मलाई प्राप्त भएको छैन । यसैले पनि तपाईंहरू सामु यहाँ उभिएर बोल्नमा मलाई संकोच भएको हो ।
प्रयाग भारतको आध्यात्मिक र सांस्कृतिक केन्द्र रहिआएको छ । मलाई त्यसै त यहाँको आकर्षण छ, अनि यसैकारण मैले जब परिमलका तर्फबाट रजत जयन्तीको अवसरमा यहाँ आउनलाई निमन्त्रणा पाएँ । मलाई लाग्यो कि मेरो इच्छाको पूर्ति हुन लागिरहेछ । मलाई साहित्यमा धेरथोर अभिरुचि छ, साहित्यद्वारा म राजनीतिक जीवनको कटुता र निरसतालाई केही हदसम्म पन्साउने कोसिस गर्दछु । यो मेरो मन बहलाउने माध्यम पनि हो । यस्तो माध्यम जसद्वारा मानसिक मनोवैज्ञानिक सन्तुलन कायम गर्न सकिन्छ । ‘मन बहलाउ’ साँच्चै निकै ठूलो र गम्भीर उद्यम हो । यसैकारण मेरो इच्छा बराबर यही हुन्छ कि म हिन्दीका साहित्यकारहरूसँग साक्षात्कार गरूँ र उनीहरूका मुखबाट साहित्यका कुरा सुनूँ— हिन्दीमा के कस्तो भइरहेछ, साहित्यलाई कुन खालको नयाँ अर्थ दिइरहेछ, कुन प्रकारको नयाँ प्रयोग भइरहेछ हिन्दीमा, बोलूँ भनेर म यहाँ आएको थिइनँ, सुन्न आएको थिएँ, सिक्न आएको थिएँ शिक्षार्थीका हैसियतले । तर, मलाई यहाँ बोल्न परिरहेछ, त्यो पनि सुरुमै सबभन्दा पहिले । यो पनि एउटा कारण हो मेरो संकोच ।
म एक राजनीतिक प्राणी हुँ । कला र राजनीतिको स्पष्ट अन्तरविरोध छ । दुई अन्तरविरोधको प्रेरणाले म डोरिन्छु अनि जीवनलाई दुवै पक्षबाट बुझ्ने प्रयास गरेको छु । जति नै आँखा चिम्लेर राजनीतिका प्रति उदासीन बनौं अथवा त्यतापट्टी पिठ्यूँ फर्काएर ढुक्क बन्ने प्रयास गरौँ, राजनीति बिस्तार–विस्तारै हाम्रो जीवनको हरेक क्षेत्रमा छाउँदै गइरहेछ । यस व्यापक शक्तिको रहस्य के हो ? त्यस शक्तिको अनुहारदेखि हामी किन काँतर हुन्छौँ अथवा निर्दयी प्रगतिबाट त्रस्त अथवा त्यसको यान्त्रिक अमानवीय अभिव्यक्तिद्वारा विरक्त भएर कलाको स्यानो फूलबारीमा टाउको लुकाएर निर्धक्क हुने प्रयत्न गर्दछौँ– जसरी बालुवामा मुन्टो लुकाएर उँmट पंक्षी निश्चिन्त भएको ठान्दछ ।
विज्ञान र कलाको सन्दर्भमा चिन्तकहरुले जुन दुई संस्कृतिको उल्लेख गरेका छन्, ती दुई संस्कृतिका आपसी असम्बन्धताबाट उत्पन्न अवाञ्छनीय परिणामपट्टी मानिसहरूको ध्यानाकर्षित गरेको छ र त्यस बारेमा यहाँ मलाई भन्नु छैन । तर उनीहरूको विचारको, राजनीति र कलाको आपसी द्वन्द्वका सन्दर्भमा प्रलम्बन गरेर यो भन्न सकिन्छ कि राजनीति र कला दुई विभिन्न परस्पर विरोधी उद्देश्यलाई लिएर स्थापित जीवनका क्षेत्र हुन् । राजनीतिको उद्देश्य संगठन हो । यसको वृत्ति सामाजिक हो, यो नियम मूलक हो, सुरक्षा भावनाद्वारा प्रेरित, यो रुढीगत छ तथा नयाँ विचार र प्रयोगप्रति शंकाशील छ । समाजको प्रगतिसँगसँगै यसको जटिलता पनि बढ्दै गइरहेछ ।सरल सामाजिक व्यवस्थामा संगठन पनि त्यति नै सरल हुन सक्तछ । दुई–चार साधारण नियमद्वारा त्यस समाजको एकता कायम गर्न सकिन्छ । तर सामाजिक व्यवस्थाको जटिलतासँगसँगै त्यसको नियम पनि जटिल हुँदै जान्छ । वर्तमान राजनीतिको व्यापकता यस प्रकारले जटिल हुँदै गएको पनि सामाजिक व्यवस्थाको परिणाम हो । राजनीतिको केन्द्रीभूत शक्तिबाट त्राण पाउनलाई नानाथरीको सिद्धान्त प्रयोगको साथै अनेक थरीका कार्यक्रम इत्यादि प्रस्तुत गरिन्छ । तर, राजनीतिको वर्तमान स्थितिको वैज्ञानिक विवेचनाको अभावमा सुधारका नयाँ–नयाँ योजना निरर्थक सावित हुन्छन् । कला भने ठीक यसको विपरीत आदर्श र प्रेरणाले परिचालित विधा हो । यो संगठनात्मक छैन, यसको वृत्ति व्यक्तिगत हुन्छ, यो नियम–मर्यादाबाट मुक्त हुन खोज्दछ, यो अराजकतावादी हुन्छ र जोखिममा रहँदै नयाँ दिशाको खोजीमा रहन्छ । जीवनका विरोधी मूल्यहरूलाई आफ्नो व्यक्तिगत जीवनमा आँकेपछि मलाई यो विवाद ‘कला कलाका निम्ति अथवा कला जीवनका निम्ति’ एकदम निरर्थक लाग्दछ ।
मनुष्य जीवनको उद्देश्यलाई लिएर दार्शनिकहरूले आफ–आफ्ना मत प्रतिपादित गरेका छन् । कसैले यसलाई प्रकृतिको एउटा आकस्मिक घटना मात्र ठान्दछन् त कसैले यसलाई दैवी उद्देश्यका लागि निर्मित एक महान तत्व । एउटा तथ्य जुन मलाई निर्विवाद लाग्छ । त्यो हो– मानव जीवनको स्वतन्त्रताप्रेमी स्वभाव तथा उसको सामाजिक सहज वृत्ति । एउटा चाहिँ यसको निरन्तर उत्थान र उत्कर्षका लागि र अर्कोचाहिँ यसको आत्मा रक्षार्थ आवश्यक छ । स्वतन्त्र प्रेम जुन मानिसमा व्यक्तिवादी वृत्तिको लक्षण हो । सामाजिक कीराफट्याङ्ग्रामा जस्तो कि मौरी, धमिरा र कमिलामा, यसको अभावले गर्दा उत्कर्षको क्रम सकिसकेको छ ।
तिनीहरू अघोरै समाजवादी हुन् । तर प्रगतिशील होइनन् । साथै, सामाजिक तन्तुहरूद्वारा आबद्ध नहुनाले मनुष्य सभ्यताको स्थितिमा आफूलाई पाउँदैनन्, यति मात्र होइन उसको जैविक कमजोरीलाई हेर्दा शायद बाँच्न पनि सक्दैन थिए । समाजले नै उसलाई सुरक्षा मात्र प्रदान गरेको छैन । उसलाई नयाँ प्रयोग र विकासका लागि अवसर पनि दिएको छ । तर समाजको मूल कार्यप्रणाली नियन्त्रित छ र अनुशासित पनि ।
यी कुरालाई मैले यसकारण खोतलेँ कि जीवनलाई यी दुवै पक्षबाट बुझ्ने कोसिस गरेँ र दुवै क्षेत्रमा चाहे त्यो राजनीति होस् वा साहित्यिक आफ्नो आचरणलाई अनुभवका आधारमा ढाल्ने प्रयत्न गरेको छु । मलाई लाग्दछ कि सामाजिक— राजनीतिक—आर्थिक क्षेत्रमा जुन नियम कानुन अथवा तर्क लागू हुन्छ त्यो कला साहित्यको क्षेत्रमा एकदम लागू हुँदैन । हामी साहित्यकारहरू पनि आजको समाजको व्यापक राजनीतिक आचरणद्वारा अन्त:चेतनाको स्तरमा यस्तरी प्रभावित भएका छौँ राजनीतिलाई व्यवसाय मानेर पनि यसका आदर्शलाई आफ्नो कलामा, साहित्यमा उतार्नलाई प्रगतिशीलताको संज्ञा दिन्छौ । कोही त कलालाई राजनीतिको दासी मानेर सत्ताधारी गुटहरूका कलासम्बन्धी निर्णय र नीति निर्धारणलाई उचित सम्झन्छन् ।
‘कला जीवनका लागि हो न कि कलाका लागि’को नारालाई धेरैजसो यही उद्देश्यले चर्को पारिन्छ । जीवनलाई राजनीतिक पक्षबाट अध्ययन गरेर त्यसका सम्बन्धमा एक दर्शन प्रणालीको प्रतिपादनले यो अवांछनीय परिणाम निस्केको छ कि केही मानिसहरूको दृष्टि कलाकारहरूका स्वतन्त्रता पनि खालि एक सापेक्ष मूल्यको वस्तु हो । साहित्य दलगत हुनुपर्दछ । तटस्थ साहित्य मुर्दावाद । साहित्यका महारथीहरू मुर्दावाद । साहित्य सर्वहारावर्गको आम उद्देश्यको एक अंग हुनुपर्छ । एक सानो पेच र समाजवादी प्रजातान्त्रिक कार्यविधिमा एउटा सानो कडी, जुन अभिजात्य हुन्छन् सम्पूर्ण श्रमिकवर्गको तमाम जागरुक अगुवाले प्रयोग गरेको गतिलो एक प्रक्रिया । साहित्य संगठित, व्यवस्थित र एकीकृत श्रमिकहरूको समाजवादी प्रजातान्त्रिक दलको एक अभिन्न अंग हुनुपर्दछ ।
यो यस्तो मान्यता र निर्णय हो जसबाट अधिकार सम्पन्न व्यक्ति कलाकार, साहित्यकारहरूलाई आफ्नो आदेश पालन गराउन फुक्का हुन्छ । हामी साहित्यकार यो मान्यतालाई स्वीकारेपछि के आफ्नो प्रेरणाप्रति निष्ठावान् हुन सक्छौँ ? यो प्रश्न केवल राम्रो या नराम्रो साहित्यको परख गर्न होइन— कि समाजोद्देश्यपरक साहित्य राम्रो छ वा खराब । गम्भीर प्रश्न छ साहित्यकारहरूको स्वतन्त्रताको । सामाजिक, राजनीतिक कार्यक्रमका सम्बन्धमा स्वतन्त्रताको प्रश्न यस कारण उठ्दछ कि जुन प्रकारको कार्यक्रम नै हुन् यो सर्वमान्य हुन सक्दैन । प्रजातन्त्रद्वारा—मताधिकारद्वारा— बहुमतको सिद्धान्तलाई मानेर त्यसका बारेमा समाजले निर्णय लिन सक्दछ । कलाको क्षेत्रमा त यो प्रजातान्त्रिक परिपाटी पनि उपलब्ध छैन । त्यसका सम्बन्धमा नत बहुमतको आधारमा न शासनरुढ वर्गको आदेशमा निर्णय लिन सकिन्छ । यसकारण प्रत्येक कलाकार स्वतन्त्र छ, आआफ्नो कलात्मक मूल्यको स्थापना गर्न । आफ्नो क्षेत्रमा उसलाई अराजकतावादी बन्ने— स्वेच्छाचारी हुने—बिलकुलै छुट छ ।
यदि साहित्यकार निरन्तर स्वतन्त्र छ, आफ्नो बाटो बनाउनलाई, यदि ऊ बिलकुल अराजकतावादी हुन सक्दछ, तब प्रश्न उठ्न सक्छ हाम्रो सामू त्यसको कृतिको मूल्यांकनको माप के हुन सक्दछ ? उसको पाठकसँग कुन आधारमा तादात्म्य स्थापित हुन सक्दछ ? मेरो विचारमा साहित्यिक कृति तथा कलाकृतिको सर्वमान्य माप हुन सक्दैन । यसबाहेक कि कालको सापेक्षमा यो स्थायी साबित होस् । कला एक निरन्तर अद्भुत वस्तु हो । नयाँपनलाई कसी लाउन पुरातनमा कुनै माप छैन । नयाँपनको मूल्यांकनका लागि कुनै एउटा माप तयार हुँदा नहुँदा त्यो पुरानो भइसक्छ ।
लेखक र पाठकका बीच आदानप्रदानको प्रश्न कलाकारको सीपको प्रश्न हो व्यक्तिगत अन्तरचेतनालाई सामूहिक चेतनामा उतार्ने काम सीपको हो । साहित्यकारको बिलकुलै व्यक्तिवादी उच्छृङ्खलता शिल्पको यस आवश्यकताबाट संयमित हुनुपर्दछ । साहित्यकार उच्छृङ्खल हुनुलाई स्वतन्त्र छ । त्यस हालतमा जब ऊ आफ्नो नयाँ अनुभूति, उसको अन्तर चेतनाको नयाँ प्राप्ति, उसको भावनाको नयाँ खोजलाई पाठकले ग्रहण गर्न योग्य बनाएर ऊसामु राख्न सकोस् । शिल्पको प्रयोजनीयताका कारण कलाकार सतत् नयाँ–नयाँ प्रयोग गर्दछ, जसबाट उसको मौलिक विलक्षण अनुभूतिलाई यसरी अभिव्यक्त गर्न सकोस् कि निजी नभएर आम हुन जाओस् ।
लेखकका नयाँ–नयाँ अभिव्यक्तिलाई नयाँ—नयाँ प्रतीकको यसकारण सधै खोज रहन्छ कि त्यसद्वारा ऊ पाठकको आफ्नो पुराना मान्यताको पक्राइबाट खुकुलो पार्न सकोस् र लेखकको नयाँ भावनाहरूप्रति उत्सुक । लेखक पाठकलाई छाड्न सक्दैन, उसलाई पन्छाएर लेखक सारगर्भित र अर्थयुक्त साहित्य रच्न सक्तैन, तर यसको माने यो होइन कि पाठक जुन पुराना ठाउँमा छ त्यहीँ लेखक आफैँ पनि उत्रोस् । उसले पाठकलाई आफ्नोपट्टि आकर्षित गराउनु छ । कुन नयाँ ठाउँमा उनीहरू दुवै सँगसँगै हुन सक्दछन्— एक अर्कोसँग संवेदनशीलताको सम्बन्ध बनाउन सक्नेछन् यस कुराको निर्णय साहित्यकारको शिल्पले दिनेछ ।
लेखक र पाठकको सम्बन्धको सिलसिलामा— जुन साहित्यकारहरूको कलासम्बन्धी उपायसँग असम्बन्धित छैन, यो प्रश्न उठ्दछ कि आधुनिक साहित्यको अर्थ के हो ? त्यसकारण मलाई लाग्दछ, कलात्मक शैलीमा आधुनिकवाद परिवर्तनको लागि एउटा आन्दोलन हो जुन आन्दोलन मुख्यत: शिल्प परिवर्तनको आन्दोलन हो । यो एउटा शिल्पको प्रश्न हो ।
जहाँसम्म कलाको अन्तरवस्तु या विषयवस्तुको प्रश्न छ विषयवस्तु, अभिव्यक्तिको शिल्पभन्दा भिन्न वस्तु–आधुनिकवाद ज्ञानको क्षेत्रमा भइरहने नयाँ–नयाँ आविष्कारहरूलाई कलाकृतिमा समावेश गर्दै जाने क्रिया हो । भौतिकशास्त्र रसायनशास्त्र, जीवविज्ञान आदि वैज्ञानिक क्षेत्रमा आविष्कारहरू मानस तत्वका प्रक्रियाका सम्बन्धमा नयाँ नयाँ विचार इत्यादि सबैले हाम्रो ज्ञानलाई विस्तृत पारेको छ । तर यी नयाँ ज्ञानले हाम्रो सांस्कृतिक र भावनात्मक परम्परामा गाँसिन ज्ञानका लागि पुकारा गर्दछ । त्यस्तो कला जो यस्तो नयाँ ज्ञानको विस्तारप्रति सचेत छ र ज्ञानको बिस्तारप्रतिको आफ्नो वोधलाई प्रकट गर्दछ । र यसलाई अभिव्यक्ति दिन्छ, त्यो आधुनिक कला हो । फ्रायडवाद अब सांस्कृतिक तथा कलात्मक परम्पराको एउटा अंग बनिसकेको छ– विभिन्न कलाकृतिमा त्यस विचारको समावेशद्वारा ।
कलाको उद्देश्य अनुभूतिको विस्तार गर्नु हो– हाम्रो संवेदनशीलताबाट परिवर्धन पार्न— हाम्रो भावनाको क्षमताहरूलाई व्यापक पार्नु हो । साहित्यको अभिप्राय (उद्देश्य) शाश्वत छ । मानिसको विकास बौद्धिक क्षेत्रमा ज्ञानको अभिवृद्धिको प्रक्रियाद्वारा र भावनात्मक क्षेत्रमा सहानुभूति र संवेदनशीलताको अभिवृद्धिद्वारा हुन्छ । कलाको परख हो– यसले यो आफ्नो दायित्वको निर्वाह गर्यो त ? अधिकांश आधुनिक कलाले शायद गरेको छैन ।
![]() |


ConversionConversion EmoticonEmoticon