![]() |
श्रावण २५, २०७३- शिरीष गुरुङले प्रदर्शनीमार्गस्थित नेपाल पुलस क्लबमा पौडी खेल्न थालेका थिए, जतिबेला उनी चार बर्षको थिए । त्यसको केहिपछि नै कीर्तिपुरमा भएको प्रतियोगितामा उनी सहभागि भए । यी ‘फुच्चे’सँग हार्यो भने बेइजत हुन्छ भनेर केहि ठूला स्वीमरले प्रतियोगिता नै छाडेका थिए । उक्त प्रतियोगितामा उनले उदीयमान खेलाडीको पुरस्कार हात पारेका थिए । उनै फुच्चे स्वीमर ३१ औं गृष्मकालीन ओलम्पिकमा आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
सबै खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ, शिरीषको पनि हो । ‘ओलम्पिक खेलकुद के हो भन्ने सन् २००८ मा बुझेको थिए । त्यसैबेला मैले पनि विश्वकै बसभन्दा प्रतिष्ठित् प्रतियोगितामा खेल्ने सपना पालेको थिए,’ १७ बर्षीय उनले रियो डे जेनेरियोतर्फ लाग्नुअघि भनेका थिए । इन्टरनेसनल ओलम्पिक कमिटि (आईओसी) का सदस्य देशलाई ओलम्पिक खेलकुदमा पौडीमा सहभागि हुनु अनिवार्य छ । यसैमा नेपालको नम्बर १ पुरुष स्वीमरको रुपमा शिरीषले ओलम्पिकमा खेल्ने सपना साकार पार्ने अवसर पाएका हुन् ।
गत बर्ष कक्षा १२ उत्तीर्ण गरेपछि पौडी खेल्नकै लागि अध्ययनलाई निरन्तर नगरेका उनी चार बर्षयता नेपाली पौडीमा पुरुषतर्फका नम्बर १ खेलाडी हुन् । २०६८ सालको राष्ट्रिय खेलकुद सुदूरपश्चिममा भएको थियो । तर, त्यहाँ प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्डअनुसारको स्वीमिङ पुल नभएपछि पौडीको प्रतियोगिता वीरगञ्जमा सञ्चालन गरिएको थियो । त्यसबेला शैलेस राणा उत्कृष्ट लयमा थिए । उनले सहभागि सबै स्पर्धामा विरलै मात्र स्वर्णपदक गुमाउने गरेका थिए ।
तर, छैटौं राष्ट्रिय खेलकुदमा शैलेसलाई पनि उछिन्दै शिरीषले चार स्वर्णपदक जितेका थिए । १३ बर्षको उमेरमै थप चार रजत र दुई कांस्यसहित कुल १० पदक जितेपनि उनी चर्चामा आएका थिए । ‘राम्रो तयरी गरेको थिए । तर स्वर्ण नै जित्छु भन्ने चाहि सोचिएको थिइन,’ त्यसबेला नौ कक्षामा अध्ययनरत उनले सम्झिए । वीरगञ्जबाट नै उनलाई सिनियर पौडीमा स्वर्ण जित्ने बानी लाग्यो । त्यसको अर्को बर्षदेखि उनी नेपालको नम्बर १ स्वीमार बने । पछिल्लो समय उनले हार्न जानेका छैनन् । एउटै प्रतियोगितामा १७ वटासम्म स्वर्णपदक जितेका छन् । अहिलेसम्म घरेलु प्रतियोगितामा कति स्वर्ण जिते, उनलाई ठ्याक्कै संख्या थाह छैन ।
‘थुप्रै जितेको छु । यति नै हो भनेर संख्या हिसाब गरेको छैन । तर, दुई सयभन्दा बढी नै जितेको छु,’ उनले भने । छैटौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा ढोका खोलेका थिए । उनले पहिलोपल्ट दुबईमा सन् २०१२ नोभेम्बरमा भएको एसियन पौडी च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । त्यसयता उनले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, वल्र्ड स्वीमिङ च्याम्पियनसिपलगायत नौ प्रतियोगिता खेलिसकेका छन् ।
उनले खेलको रुपमा पौडी बुझेपछि दुईटा सपना बुनेका थिए, ओलम्पिक खेल्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने । ‘पहिलो सपना (ओलम्पिक) यसैपाली साकार हुदैछ । दोस्रो सपना पनि पूरा गर्ने प्रतीक्षामा छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर कमै पाइन्छ । पदक जित्नको लागि भाग्यले पनि साथ दिनुपर्छ । त्यसैले अन्तर्राष्ट्रिय पदक जित्ने सपना पूरा गर्न अझै प्रतीक्षारत छु ।’
ओलम्पिक छात्रवृत्तिअन्तर्गत् बैंककमा झण्डै एक बर्ष प्रशिक्षण गरेपछि शिरीषको खेलमा निक्कै सुधार भएको थियो । ‘नेपालमा पनि बाह्रै महिना खेल्नमिल्ने स्वीमिङ पुलको व्यवस्था हुने हो भने हामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अरुलाई चुनौती दिनसक्छौं,’ उनले भने, ‘जाडो याममा खेल्नसकिने संभावना हुदैन । खेलाडीले प्रशिक्षण गर्न मिल्ने हिटिङ सिस्टमको स्वीमिङ पुल नेपालमा छैन । त्यसैले बर्षमा चार–पाँच महिना मात्र खेलेर अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्नु सजिलो छैन ।’
प्रशिक्षक ओङदेन लामाकाअनुसार १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा शिरीषलाई पदक जित्ने राम्रो अवसर थियो । तर, उनलाई त्यसबेला पेटको समस्याले सताएको थियो । ‘पूर्ण रुपमा फिट भएको भए उनले १२ औं सागमा पदक जित्ने बलियो संभावना थियो,’ लामाले भने, ‘उनको दक्षिण एसियाली स्तरमा पदक जित्ने संभावना छ । आमन्त्रण प्रतियोगिताको रुपमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले पदक जित्नसक्छन् ।’
करिब एक दशकयता शिरीषलाई प्रशिक्षण दिदै आएका लामा ‘प्रतिभावान् र मिहिनेती खेलाडी’को आफ्ना चेलाको परिचय दिन्छन् । ‘राम्रो खेलाडीमा हुनुपर्ने गुण उनमा छ,’ प्रशिक्षक लामाले भने । ओलम्पिकमा सहभागि हुन ब्राजिलतर्फ प्रस्थान गर्ने दिनसम्म पनि शिरीषलाई उनले प्रशिक्षण दिएका थिए ।
कीर्तिमानको ओइरो
साउन, २०६९ मा शिरीषले १५ सय मिटर इन्डिभिज्युअल मिड्लेमा जयप्रकाश गुरुङको २८ बर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका थिए । त्यो नै उनको पहिलो राष्ट्रिय कीर्तिमान हो । त्यसयता उनले राष्ट्रिय कीर्तिमानको ओइरो नै लगाएका छन् । हालसम्म उनले ४५ पल्ट राष्ट्रिय कीर्तिमान बनाइसकेका छन् ।
‘खेलाडी बन्छु भन्ने लागेको थियो तर यति धेरै कीर्तिमान बनाउँछु भन्ने सोचिएको थिएन,’ उनले भने । पहिलो राष्ट्रिय कीर्तिमानयता उनले लगभग सबै प्रतियोगितामा रेकर्ड ब्रेक गरेका छन् । त्यसैले उनको लागि राष्ट्रिय कीर्तिमान पर्याय नै भइसकेको छ ।
अहिले नेपाली पौडीको पुरुषतर्फका १९ स्पर्धामध्ये पाँच राष्ट्रिय कीर्तिमान मात्र उनले आफ्नो बनाएका छैनन् । उनको नाममा व्यक्तिगत १२ र रिले (टिम स्पर्धा) मा दुई र कुल १४ कीर्तिमान छन् । उनले रियो लाग्नुअघि सातदोबाटोमा भएको राष्ट्रिय प्रतियोगितामा पुष्पराज शाहीको नौ बर्ष पुरानो ५० मिटर ब्याकस्ट्रोक र १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेका थिए ।
उनले चित्रबहादुर गुरुङ ५० मिटर फ्रिस्टाइल (२००३), चन्द्रसिंह महतो ५० मिटर बटरफ्लाई (२००९), आनन्द लेप्चा १ सय मिटर बटरफ्लाई (१९८९), शैलेस राणा ५० मिटर ब्रेस्टस्ट्रोक (२००९), एलिस श्रेष्ठ १ सय मिटर ब्रेस्ट स्ट्रोक (२००४) को र मिड्ले रिले चार गुणा १ सयको रेकर्ड मात्र आफ्नो बनाउन बाँकी छ ।
ओलम्पिकको लक्ष्य
ओलम्पिक अक्वाटिक्स स्टेडियममा आज मंगलबार शिरीषले १ सय मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । यसमा पनि उनले राष्ट्रिय कीर्तिमान बनाउने आस गरिएको छ ।
‘अहिले राम्रो लयमा छु । तयारी पनि राम्रै भएको छ । दैनिक ६ घन्टासम्म प्रशिक्षण गरे । त्यसैले ५७ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य बनाएको छु,’ उनले भने । उनले गत बर्ष कजान (रुस) मा भएको १६ औं फिना विश्व च्याम्पियनसिपमा ५८.२२ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । त्यसमा उनी १ सय १५ खेलाडीमध्ये १ सयौं स्थानमा रहेका थिए ।
रियोमा ‘हिट २’मा उनीसँगै आठ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १२ औं सागमा सात स्वर्ण, दुई रजत र एक कांस्यसहित १० पदक जितेका श्रीलंकाली म्याथ्यु अबेसिंघेले उनीसँगै प्रतिस्पर्धा गर्दैछन् । यो स्पर्धामा ५८ खेलाडी सहभागी छन् ।
शिरीषको अन्तर्राष्ट्रिय अनुभव
बर्ष (सन्) प्रतियोगिता स्थान
२०१२ फिना एसियन च्याम्पियनसिप दुबई
२०१२ वर्ल्ड च्याम्पियनसिप २५ मि. शट–पुल टर्की
२०१३ वर्ल्ड च्याम्पियनसिप बार्सिलोना
२०१३ एसियन युथ गेम्स नान्जिङ
२०१४ एसियाली खेलकुद इन्चोन
२०१५ फिना वर्ल्ड च्याम्पियनसिप कजान
२०१५ फिना एयरवेभ वर्ल्डकप दुबई
२०१५ थाइल्यान्ड ओपन बैंकक
२०१६ दक्षिण एसियाली खेलकुद गुवहाटी
![]() |




ConversionConversion EmoticonEmoticon