Battle, conflict NSU closed-stranded


श्रावण २५, २०७३- कांग्रेसको १३ औं महाधिवेशनमा देखिएको ध्रुविकरणको छायाँ भातृसंस्था नेविसंघमा पनि देखा परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेविसंघमा आ-आफ्नो बर्चस्व कायम राख्न उद्दत भएपछि उद्‍घाटन भएको दुई दिनसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।

विवादको मूख्य चुरो विधिवत् महाधिवेशन नभईकनै भागबण्डाका आधारमा छनोट भएका ११ जिल्लाका प्रतिनिधिको बिषय बनेको छ । नेविसंघ अध्यक्ष रञ्जित कर्ण र ऋषिकेशजंग शाह समूहबीच अधिवेशन नभएका ११ जिल्ला र स्ववियू निर्वाचन नभएका क्याम्पसमा भागबण्डामा आधारमा प्रतिनिधि छनोट भएको थियो । कर्ण पौडेल पक्ष र शाह देउवा पक्षीय हुन् । सिटौला पक्ष यी दुई पक्ष (देउवा र पौडेल) बीच भागबण्डाको आधारमा आएका प्रतिनिधिलाई मान्यता दिन नहुने पक्षमा छन् । विधिवत् महाधिवेशनबाट प्रतिनिधि छनोट गर्नुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी नेताहरुले आफूहरुलाई ३३ प्रतिशत हिस्सा दिइनुपर्ने माग राखेका छन् ।

विधिवत् महाधिवेशनकै माग राख्दै पौडेल निकट नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मा पक्षका विद्यार्थी पनि आमरण अनशनमा छन् । महाधिवेशनस्थल भृकृटीमण्डपमा मंगलबार दिनभरजसो नाराजुलुश चलेको थियो । बन्द सत्र तत्काल सुरु गर्न माग राख्दै विद्यार्थीहरुले नाराजुलुश गरेका थिए । सभापति आंकाक्षीहरुले भने आ-आफ्नो पक्षमा माहोल बनाउनका लागि पनि जुलुश निकालेका थिए । सभापतिका आकांक्षी क्षितिज भण्डारी र कुन्दन काफ्लेको समूहबीच केहीछिन तनावको स्थिति भएको थियो । काफ्ले नेतृत्वको विद्यार्थी समूहले बन्द सत्र सुरु गर्न माग राख्दै भृकृटीमण्डप भित्र छिर्ने प्रयास गर्दा प्रहरीसँग पनि केही झडप भएको थियो ।

११ जिल्ला र क्याम्पसका समेत गरी करिब १ हजार प्रतिनिधिमा विवाद देखिएको छ । यी प्रतिनिधि नै निर्णायक बन्न सक्ने भएकाले पार्टीभित्रको तीनै पक्ष यसलाई आफूतिर तान्ने कसरतमा लागेका हुन् । समझदारीका लागि सभापति देउवाले आफ्नो, पौडेल र सिटौला पक्षलाई ३०/३० प्रतिशत र महेन्द्र शर्मा समूहलाई १० प्रतिशत दिने प्रस्ताव गरेका थिए । तर, पौडेल समूहका विद्यार्थी नेताहरुले ५१ प्रतिशतको अडान राखेपछि मंगलबार बेलुकासम्म पनि समझदारी जुट्न सकेको छैन ।

नेविसंघको विवाद मिलाउनका लागि प्रकाशरण महत नेतृत्वको निर्देशन समितिमा दिनभर वार्ता भए पनि सहमति बनेन । समितिमा संयोजक महतका अतिरिक्त नेविसंघका पूर्वअध्यक्षहरु गुरु घिमिरे, गोविन्द भट्टराई, किशोरसिंह राठौर र प्रदिप पौडेल सदश्य छन् ।

निर्वाचनमा सिटौला पक्षले देउवा पक्षसँगै गठबन्धन गर्ने संभावना भएकाले पौडेल पक्ष सिटौला समूहलाई ३० प्रतिशत दिन तयार देखिएको छैन । ‘मिलाउने प्रयास जारी छ । आज रातभर मिलाएरै भए पनि भोली निर्वाचनको प्रकृया सुरु गराउने पक्षमा छौ,’ निर्देशन समिति सदश्य गोविन्द भट्टराईले भने । उनले सहमति हुनै नसक्ने अवस्थामा ११ जिल्लाको विवाद छाडेर भए पनि निर्वाचनमा जाने बताए । निर्देशन समिति तहमा सहमति नजुटेमा बुधबार शीर्ष तहमा छलफल हुने भएको छ ।

महाधिवशेन लम्बिदा आर्थिक व्ययभार समेत थपिएको छ । देशभरबाट आएका ३३ सय प्रतिनिधिलाई आवास तथा भोजनका लागि दैनिक ४३ लाख रुपैयाँ खर्च भएको छ । संघले आवास तथा भोजनका लागि बुधबार सम्मको मात्रै व्यवस्था गरेको तयारी समितिका सदस्य मोती भण्डारीले बताए ।

नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्की संस्थालाई नै कमजोर बनाउनेगरी महाधिवेशन रोक्न नहुने बताउँछन् । ‘महाधिवेशन असफल भए यसको असर कुनै नेता विशेषलाई भन्दा संगठनलाई पर्छ,’ कार्कीले भने, ‘नेविसंघ भनेको घर/घरमा फैलिएको संस्था हो । यसलाई कमजोर बनाउँदा कांग्रेसकै संगठन कमजोर हुन्छ ।’ अर्का पूर्व अध्यक्ष एवं कांग्रेस केन्द्रिय सदश्य धनराज गुरुङ विधि, पद्दतिबाट निर्णय नगरेका कारण समस्या आएको बताउँछन् । ‘निर्देशन समितिका बसेका साथीहरुले पनि विधि, पद्दतिबाट निर्णय गर्नुपर्छ, मासुको भाग लगाएजस्तो गर्न खोजेर समाधान निस्किदैन’ गुरुङले भने ।

अनसनकारी सापकोटा गम्भीर
विधिवत् महाधिवेशन गराउन माग राख्दै आमरण अनशनमा बसेका मध्ये गणेश सापकोटाको अवस्था गम्भीर बनेको छ । मोडल अस्पतालमा उपचार गराईएको सापकोटालाई आईसियूमा राखेर उपचार गराउनुपर्ने भएपछि मंगलबार राति ओम अस्पताल लगिएको छ । आमरण अनशनमै बसेका अर्का विद्यार्थी रत्नहरि ढुंगेललाई भने मोडलमै उपचार गराइएको छ । उनीहरु ८ दिनदेखि आमरण अनशनमा छन् ।



Previous
Next Post »