Taiphaida and patients increased in various parts of the country

बर्षायामको अन्त्यतिर आएर जिल्लामा टाईफाईड र भाईरलका बिरामी बढेका छन् । सदरमुकाम आसपासबाट जिल्ला अस्पतालमा उपचार गराउन आउने अधिकांशमा टाईफाईडको प्रभाव देखिएको छ भने गाउँ–गाउँमा भाईरलका बिरामीको संख्या बढ्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

पर्वतमा टाईफाईड र भाईरलका बिरामीहरुको संख्या प्रत्येक दिन थपिदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर फणिन्द्र बरालले जिल्ला अस्पताल पर्वत तथा गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकीहरुमा टाईफाईड र भाईरलका बिरामी बढेको पाईएको बताउँनुभयो । उहाँले अहिले जिल्ला अस्पतालमा दैनिक आउने सरदर एक सय बिरामी मध्ये आधा भन्दा धेरै टाईफाईडका बिरामी भएको जानकारी दिनुभएको छ । साथै ३० प्रतिशत बिरामी भाईरल प्रभावित बिरामी जिल्ला अस्पतालमा आउने गरेको पनि बरालले बताउनुभयो । बर्षायामसँगै बढ्ने दुषित पानीबाट बिरामीहरु प्रभावित भएको उहाँको कथन छ । बर्षायामसँगै दुषित पानी र खानाको प्रयोगले टाईफाईडका बिरामीहरु समेत बढेको उहाँले जानकारी दिनुभयो ।
दुषित पानी र खाने कुराको प्रयोगले गर्दा हुने टाईफाईड र हावाबाट सर्ने प्रकोप भाईरल दुबै सरुवा रोग भएकोले बिरामीहरुले हेलचेक्र्याईँ गरे यसको प्रभाव अझै ठूलो हुनसक्ने सम्भावना रहेको डा. बरालले चेतावनी दिनुभयो । एक साता अघि फैलिएको टाईफाईड र भाईरलले समग्र जिल्लामा प्रभाव बढिरहेको स्थानीयहरुले बताएका छन् । स्थानीयवासिका अनुसार जिल्लाका ठुलीपोखरी, कार्किनेटा, फलेबास, शंकरपोखरी लगायतका एक दर्जन बढी गाबिसमा भाईरलको बिरामीको संख्या बढेको छ । सदरमुकाम आसपासमा भने टाईफाईडका बिरामीको संख्या ठूलो मात्रामा देखिएको छ । अहिले सम्म जिल्लामा पर्याप्त औषधी रहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । हल्का ज्वरो पछि बिरामीहरुलाई एक्कासी टाईफाईड हुने गरेको भेटिएको बताउनुभयो ।
भाईरल प्रभावितहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का रुघा लाग्ने लगायतको समस्या देखिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
भाईरलको कारण आत्तिई हाल्नु पर्ने अवस्था भने नरहेको चिकित्सकहरु बताउँछन् । यो समस्या बिस्तारै २ ,४ दिनमा आफैं ठिक हुने चिकित्सकहरुको कथन छ ।
Previous
Next Post »