श्रावण १८, २०७३- नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अगाडि संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा छन् ।
मोर्चाको समर्थनपनि दाहाललाई
दाहालले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन पनि पाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहालको उम्मेदवारीको समर्थक बसेका छन् ।
सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको तर सरकारमा भने नजाने बताएका छन् ।
उम्मेदवारी दर्ता ४ बजेसम्म
निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।
निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ ।
संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या (दुई निलम्बितसमेत ५ सय ९५) को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ ।
एमालेले उम्मेदवारी नदिने
संसद भित्रको दोस्रो प्रमुख दल नेकपा एमालले प्रधानमन्त्री पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने भएको छ । स्थायी समितिको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । 'एमाले अब जिम्मेवार प्रतिपक्षमा बस्छ,' उनले भने । पार्टी भित्र उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलको उपनेता सुवास नेम्वाङ कसैलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो ।
दाहालको पक्षमा स्पष्ट बहुमत
नयाँ सरकार गठनका लागि संसदको सबैभन्दा ठूलो दल कांग्रेस र तेस्रो दल माओवादी सम्मिलित गठबन्धनबाट दाहालको उम्मेदवारी परको छ । संसदमा कांग्रेसको २ सय ७ र माओवादीको ८० (सभामुखले मतदान नगर्ने, एक निलम्बितबाहेक) सिट छ । गठबन्धनलाई आन्दोलनरत मधेसी मोर्चा (३९ सिट) ले समर्थन गर्ने जनाइसकेकाले दाहालका पक्षमा सहज बहुमत देखिन्छ । गठबन्धनलाई नेकपा (संयुक्त) लगायतका साना दलहरूले पनि समर्थन छ । बुधबार हुने निर्वाचनबाट दाहाल प्रधानमन्त्री चयन हुने निश्चित छ ।
यस्तो छ गठबन्धनसँगको ३ बुँदे सहमति
तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार कांग्रेस-एमाअोवादी र संघीय गठबन्धनबीच निम्न सहमति भएको छ :
१) अब बन्ने सरकारलेे मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तालाई कार्यान्वयन गर्ने ।
२) सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं) मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।
ConversionConversion EmoticonEmoticon