श्रावण १८, २०७३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अगाडि घोषणा गरे अनुरुप भारत सरकारले सार्कका आठ मुलुकका ठूला व्यापारीहरुलाई ‘इन्डिया विजनेस कार्ड’ दिने भएको छ । विशेषत सार्क मुलुकबीचमा व्यापार र वाणिज्यलाई प्रवर्द्धन गर्ने उदेश्यले भारतले सो कार्ड चाँडै नै वितरण गर्न लागेको हो ।
सो कार्ड प्राप्त सार्क सदस्य राष्ट्रका व्यापारीहरुले निर्वाध रुपमा सबै राष्ट्रको भ्रमण गर्न सक्नेछन् । यसलाई मल्टी सिटी, मल्टी इन्ट्री भिसा समेत भन्ने गरिएको छ । भारतीय पत्रिका हिन्दुले एक भारतीय उच्च अधिकारीलाई उल्लेख गर्दै पहिलो चरणमा भारतले पाँच हजार कार्डहरु मुद्रण गरेको र चाँडै यसलाई वितरण गरिने जनाएको छ ।
भोलिदेखि पाकिस्तानमा हुने सार्क राष्ट्रका गृहमन्त्रीहरुको बैठकमा भारतले कार्ड वितरण भएको तयारीबारेमा जानकारी गराउने छ । यस अगाडि भारतका विभिन्न सुरक्षा निकायहरुले सुरक्षाको विषय उठाएपछि मुद्रण कार्यमा ढिलाई भएको थियो ।
सो भिसा सार्क मुलुकका उच्च व्यापारीहरुलाई मात्र दिइने छ र उनीहरुले यसलाई आफ्नो पासपोर्टसँगै बोक्नुपर्ने छ । कार्डमा पासपोर्टको विस्तृत विवरण हुनुको साथै ट्राभल सम्बन्धि सम्पूर्ण विवरणहरु हुने छ ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनको समयमा तीनदेखि पाँच वर्षको अवधि हुने सो कार्ड लागू गर्ने घोषणा गरेका थिए । सार्कका मुलुकहरुमध्ये नेपाल र भुटानका नागरिकलाई भारत आउजाउ गर्न भिसा आवश्यक पर्दैन ।
यसका साथै सार्कका सदस्य राष्ट्रहरुले एकै खालको भिसा एप्लिकेसन फर्म र सफ्टवेयरको समेत व्यवास्था गर्ने तयारी गरिरहेका छन् । विशेषगरी प्रबुद्ध व्यक्ति, सर्वोच्च अदालतका न्यायधीशहरु, सांसद, उच्च सरकारी अधिकारी, व्यापारी, पत्रकार र खेलाडीहरुको लागि यो व्यवस्था गर्न लागिएको हो ।
यसैबीच सार्क राष्ट्रका गृहमन्त्रीहरुको बैठक भोलिदेखि पाकिस्तानको राजधानी इस्लामावादमा बस्दै छ । सो बैठकमा सार्क मुलुकहरुमा आतंकवादको चुनौती, भिसा सम्बन्धी समस्याहरु, गैरकानुनी हतियारको ओसारपसार रोक्ने, सार्क राष्ट्रका सुरक्षा निकायहरुबीचमा समन्वय तथा इन्टिलिजेन्स सेयरिङको विषयमा कुराकानी हुने छ ।
यस्तै बैठक सन् २०१४ मा काठमाडौंमा बसेको थियो । आपसी तिक्तताकोबीचमा पनि बैठकमा सहभागी हुन भारतका गृहमन्त्री राजनाथ सिंह पाकिस्तान जाँदै छन् ।
ConversionConversion EmoticonEmoticon