American former foreign statute, Nepal 'Brand Ambassador'!


श्रावण २५, २०७३- ६३ बर्षीय अमेरिकी पूर्वराजदुत स्कट डेलिसी, यतिबेला अमेरिकामा नेपाली संगीतका 'ब्रान्ड एम्ब्यासडर' झैं देखिन्छन् । नेपाली संगीतको प्रचार-प्रसारका लागि भ्याई, नभ्याई छ, उनलाई । कहिले समुदायसँगको अन्तरक्रिया त कहिले सांगीतिक मौहालको व्यवस्थापन । कलाकारलाई एयरपोर्टमा स्वागतार्थ उपस्थित हुने मात्र होईन, उनीहरुलाई कार्यक्रम स्थलसम्म पुर्‍याउनेदेखि सबैखाले व्यवस्थापनको जिम्मा उनैमाथि छ ।

परम्परागत शास्त्रीय एवम लोक संगीतको ब्यान्ड 'सुर सुधा' अहिले डेलिसीकै नेतृत्वमा अमेरिकी सहरमा गुन्जिदैंछ । डेलिसी, कार्यकारी निर्देशक रहेको 'सोरवे फाउन्डेसन' यसको आयोजक एवम प्रायोजक दुवै हो । संगीत यात्राको उदेश्य भूकम्प पीडितको सहयोग हो । 'विपत्तीबाट नेपाललाई सुरक्षित पारौं' भन्ने मन्त्र बोकेको फाउन्डेसनका अनुसार नेपालमा विपत्तीको संभावित खतरालाई न्युनीकरण गर्ने भविष्यका योजनाका लागि अर्थ संकलनको पाटो हो, यो संगीत यात्रा । तर, डेलिसी भनाई यतिमै सिमित छैन् । उनी भन्छन्- 'अमेरिकामा नेपाली संस्कृति पस्कदैछौं, नेपालको विविधतालाई चिनाउदैंछौं ।'

डेलिसीका लागि पैसा संकलन नै पहिलो ध्याउन्न होईन । कान्तिपुरसँग उनले भने, 'जति पैसा उठे पनि हामी दंग हुनेछौं । किनकी यसले नेपाल र नेपाली डायस्पोरा एवम नेपाली र अमेरिकी बीचको समन्वय र सदभावलाई मजबुत पार्नेछ ।' सुरसुधाले टेक्सासको डालास र अस्टिनमा आफनो प्रस्तुति दिइसकेको छ भने न्यूयोर्क, फेलाडेल्पिmया, पिटस्वर्ग, वासिङटन डिसी, उत्तरी भर्जिनिया र बाल्टिमोरमा पनि कार्यक्रम गर्दैछ ।

गत साल नेपालमा महाभूकम्प आँउदा, डेलिसी, अफ्रिकी मुलुक युगान्डाका लागि अमेरिकी राजदुत थिए । ३४ बर्षे अमेरिकी कुटनितिक सेवाबाट अवकाश पाउन मात्र चार महिना बाँकी थियो । २०६७ देखि दुई बर्ष नेपालका राजदुत रहेका डेलिसीले भूकम्पको स्मरण गर्दै कान्तिपुरसँग भने, 'युगान्डामा बिहानको नौं बजेको थियो । नेपालको त्यो खबरले म स्तब्ध भएँ । नेपाल, मेरो मानसपलटमा घुमिरह्यो ।'

संयोग कस्तो छ भने, नेपालमा भूकम्पआउनु दस दिनअघि, नेपालमा संभावित विपत्तीलाई न्युनीकरण सँगै सावधानी एवम तयारीमा केन्दि्रत हुने हेतुले फिलाडेल्पिmयाको पिटस्वर्गमा 'सोरवे फाउन्डेशन' स्थापना भएको थियो । डेलिसी त्यसका एक मुख्य परिकल्पनाकार थिए ।

अवकाश जीवनलाई कसरी सदुपयोग गर्ने ? प्रगतीशील एवम उदार मानिसहरुको बसोबास रहेको मध्यपश्चिमी अमेरिकी राज्य मिनीसोटामा जन्मे, हुर्केका उनले नेपाललाई सम्झे । दुई पटक सगरमाथाको आरोहण गरिसकेका पदयात्री माईकल कोबोल्डको सक्रियतासँगै फाउन्डेशन जन्मियो । भूकम्प लगत्तै डिसीस्थिती नेपाली दुताबाससँग मिलेर फाउन्डेशनले राहत रकममा सहकार्य गरेको थियो भने प्रभावित क्षेत्रमा राहत वितरण गरेको थियो । बिशेषत भूकम्प प्रभावित वृद्व वृद्वाहरुलाई फाउन्डेशनले सहयोग गरेको थियो ।

भविष्यमा काठमाडौंमा अग्नी नियन्त्रणको आवश्यक संरचना बनाउने फाउन्डेशन योजना छ । र मानवीय संवदेनाको प्रतिक पारिवारिक मिलन केन्द्र स्थापना गरिने छ । त्यसको लागि अर्थ संकलन अगाडि बढाईएको छ । दक्षिण एसियाका प्राय सबै मुलुक लगायत दर्जन बढी देशहरुमा काम गरिसकेका डेलिसीलाई नेपाल नै किन प्यारो ? 'मेरा लागि नेपाल बिशेष ठाँउ हो' उनले भने, 'नेपालबाट पाएको जस्तो आत्मीयता र हार्दिकता मैले अन्यत्र कतै पाइनँ ।' उनले भने, 'म हेर्दा नेपाली नदेखिएपनि भावनामा नेपाली नै हुँ ।'



Previous
Next Post »