Australia 'Men forbidden' Teej



श्रावण २४, २०७३- कोमल वलीको नृत्य सहितको पोई माग्ने तीज गीत । सिड्नी र क्यानबेराका ५ सय बढी महिलाहरुको सहभागिता तर पुरुषको प्रवेश भने निषेध । यसबर्ष सिड्नीको मुटु ग्रानभिलमा आयोजना गरिएको तीजको दरखाने कार्यक्रमको रौनकता अलग्गै थियो ।

महिलाहरुलाई तीजको अलग रौनक दिने उद्देश्यले अष्ट्रेलिया एनआरएनको महिला शाखा नारी निकुञ्जले आयोजना गरेको तीजको विशेषता नै अलग थियो । किनकी औपचारिक रुपमा कुनैपनि पुरुषलाई प्रवेश निषेध गरिएको थियो । महिलाहरुले एकदिन मात्र भएपनि आफ्नो चाडवाडलाई एकआपसमा खुलेर मनाउन पाउन भनेर यस किसिमको तीज कार्यक्रमको आयोजना गरिएको निकुञ्जकी सहसचिव सुधीरा शाहले बताइन् । जसमा रातो साडी, चोलो र गरगहनामा सजिएका महिलाहरुले कोमल वलीका गीतहरुसँग नृत्य गर्दै करिब ५ घण्टासम्म रमाएका थिए ।

निकुञ्जको उक्त कार्यक्रममा सहभागीता जनाउन आएकी कोमल वलीले करिब १ दर्जन तीजका गीतहरु सुनाएर सबैलाई नचाएकी थिइन् । उनले ‘पोई चाहियो भनेर गीत गाउने लाष्टै चोटी हो’ लगायतका गीतहरु सुनाउँदा रातो साडी र चोलोमा सजिएका महिलाहरुले नाचेर साथ दिएका थिए । सिड्नीको ग्रानभिलमा रहेको ब्लाउजा कम्युनिटी हल रातो साडीमा सजिएका महिलाहरुले नेपाली तीजमय बनाएका थिए । केही पत्रकार र खाना बाँड्ने पुरुष बाहेक महिलाहरु मात्र रहेको कार्यक्रममा वलीले आफ्ना तीजका गीतहरु सुनाउँदा ताली र वान्स मोर पाएकी थिइन् ।

नेपालका गरिब तथा असक्त महिलाहरुलाई सहयोग गर्दै आएको नारी निकुञ्जले यसबर्ष सीपमुलक तालिम दिएर सहयोग पुरयाउने उदेश्यले तीज कार्यक्रमको आयोजना गरेको अध्यक्ष सृजना संग्रौलाले बताईन् । निकुञ्जले प्रत्येक बर्ष तीज कार्यक्रम गर्दै आएको हो ।  स्थापनादेखि बिभिन्न सामाजिक र अन्य कार्यक्रमहरु मार्फत पाठेघर खस्ने समस्या भएका महिलाहरुका साथै दुर्गम भेगमा रहेका विपन्न महिलाहरुलाई सीपमुलक तालिम समेत निकुञ्जले प्रदान गर्दै आएको छ ।

निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले दिएको जानकारी अनुसार केही समयपहिले नेपालका उद्दमी महिलाहरुसँग यसै क्षेत्रमा काम गर्नका लागि १० लाख बराबरको सम्झौता समेत भइसकेको छ । यही कार्यक्रमलाई अझ सफल बनाउन परोपकारी उदेश्यका साथ तीज कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिईन् । कार्यक्रममा संस्थालाई स्थापना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै रञ्जु वाग्ले थापालाई सम्मान गरिएको थियो ।



Previous
Next Post »