Muslim girl dressed entrance

श्रावण २६, २०७३- विद्यालय जाँदा किशोरीले मिड्डी लगाउने वा कुर्ता सलवार ? निजी विद्यालयहरूले तोकिएकै पोसाकमा आउन निर्देशन दिने गरेका छन् । अधिकांश विद्यालयले स्कर्ट, सर्ट र पाइन्टलाई पोसाक तोकेका छन् । तर, मुस्लिम समुदायका किशोरीलाई मिड्डी, स्कर्ट र सर्ट लगाउन अनुमति छैन । धर्म–संस्कृतिलाई ख्याल नगरी तोकिने त्यस्ता पोसाक अनिवार्य गरेर आफ्ना छोरीहरूको पढाइ रोकेको उक्त समुदायका अगुवाको गुनासो छ ।

नेपालगन्जस्थित गोल्डेन एबीसी विद्यालयले मिड्डी लगाएर नआएको बताउँदै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विवाद चुलिएको छ । नेपालगन्ज ४ की मैयसा अन्सारी, सना शहजादी र सानिया खानलाई तोकिएको पोसाक नलगाएको बताउँदै सोमबार कक्षाबाट निकालियो ।

उनीहरूले विद्यालय पोसाकै रंगको कुर्ता सलवार लगाएका थिए । तर, नियम अटेर गरेको आरोप लगाउँदै कक्षामा बस्न दिइएन । उक्त विषय जिल्ला शिक्षा कार्यालयसम्म पुगे पनि समाधान भने निस्केको छैन ।

शिक्षा कार्यालयले सर्ट र मिड्डीमा मुस्लिम किशोरीलाई पढ्न जान समस्या भएर विद्यालय छाड्नु परेकोप्रति ध्यानाकर्षण भएको बताउँदै तोकिएको रंग बमोजिम कुर्ता–सलवार लगाउन छुट दिन निर्देशन गरेको छ । तर, संस्थागत विद्यालयले अडान नछाडेकाले विवाद बढेको हो ।

‘पोसाककै कारण हाम्रा छोरीलाई पढाइबाट वञ्चित गर्नु अन्याय हो । हाम्रो धर्म र संस्कारले स्कर्ट लगाउन मिल्दैन,’ मुस्लिम अभिभावक मोहम्मद अनिस हल्वाईले भने, ‘तोकिएको रंगको कुर्ता–सलवार लगाएर मुस्लिम किशोरीले पढ्न पाउनुपर्छ ।’ उक्त विद्यालयका प्रधानाध्यापक विकास ढकालले नियम सबैले अनिवार्य मान्नुपर्ने दाबी गरे । ‘मुख्य कुरा पढाइ हो । विद्यालयको धर्म हुँदैन,’ उनले भने, ‘हामीकहाँ सबै समुदायका बालबालिका पढ्छन् । उनीहरूलाई समान व्यवहार गर्नु हाम्रो दायित्व हो ।’

जिल्ला शिक्षा कार्यालयका उपसचिव गोर्खबहादुर थापाले विद्यालयले तोकेको रंगको पोसाक लगाएर विद्यार्थीहरू पढ्न जान पाउनुपर्ने बताए । पोसाककै कारण कुनै पनि बालबालिकालाई पढाइबाट वञ्चित गर्न नमिल्ने उनले बताए । ‘पोसाकका कारण पढाइबाट वञ्चित नगर्न लिखित निर्देशन दिइसकेका छौं,’ थापाले भने ।

संस्थागत विद्यालयहरूको संगठन एन–प्याब्सनले भने लागू गरिएको नियमलाई अभिभावक र विद्यार्थीले अनिवार्य मान्नुपर्ने बताएको छ । ‘विद्यालयको आफ्नो नियम हुन्छ । त्यसलाई विद्यार्थीले मान्नै पर्छ,’ एन–प्याब्सन जिल्ला अध्यक्ष कुवेर बस्नेतले भने ।

Previous
Next Post »