उनीहरूको जीवन भूकम्प आउँदा जस्तो थियो अझै उस्तै रहेको अष्टमाया बताउँछिन् । ‘भूकम्प आउँदा जस्तो कठिनाइ भोगेका थियौं, अहिलेसम्म उही पीडा भोग्दै छौं,’ उनले भनिन्, ‘अझै यस्तो पीडा कति दिन भोग्नुपर्ने हो ।’
अष्टमायाको देब्रे आँखाले काम गर्दैन । उनकी कान्छी छोरी बौद्धिक अपांग छिन् । पतिको भरिया पेसाले खानलाउन कठिन भएको उनी बताउँछिन् । जेठी छोरी पूर्णिमा भने विद्यार्थी निकेतन उमाविमा कक्षा ५ मा अध्ययनरत छिन् । आफ्नो नाममा सम्पत्ति नभएको र भूकम्पअघि बस्दै आएको घर पनि ससुराको नाममा छ । ‘सासूससुराको मृत्यु भइसकेकाले घर भएको जग्गाको बाँडफाँड गर्न समस्या छ,’ उनले भनिन् ।
लगातारको वर्षाले शिविरमा बस्न कठिन भएको भूकम्पपीडितहरूको गुनासो छ । ‘पानी पर्नेबित्तिकै शिविर हिलाम्य हुन्छ,’ पूर्णिमाले भनिन्, ‘पानी चुहिने ठाउँमा प्लास्टिकले छोपेको छ, तैपनि चुहिन्छ ।’ इताछेंकै ८० वर्षीय शान्ता श्रेष्ठको पीडा पनि उस्तै छ । ०४५ सालको भूकम्पले भत्काएको घरसमेत बनाउन नसकेर कोठामा बसेको उनी बताउँछिन् ।
‘त्यही कोठा बसेको घर पनि भूकम्पले भत्काइदियो,’ उनले भनिन्, ‘आफ्नो नाममा लालपुर्जा छैन, जग्गा जमिन केही छैन । १५ महिनायता टेन्टमा बस्दै आएकी छु, यहाँबाट पनि कुन दिन हटाउने हो,’ उनले गुनासो गरिन् । ३ छोरी, १ छोराकी आमा शान्तालाई ०४५ सालपछिको जीवन कष्टकर भएको बताउँछिन् ।
काठमाडौं नाङ्लेभारेकी ७० वर्षीया पुतली विश्वकर्मा १५ वर्षदेखि भक्तपुरमा बस्दै आएकी छिन् । उनी भाडामा बस्दै आएको घर भूकम्पले भत्कियो । १२ वर्षीया नातिनीका साथ भक्तपुर १७, दूधपाटीस्थित भाजु पुख: किनारको अस्थायी टेन्टमा बसिरहेकी छन् । नाङ्लेभारेमा आफ्नो जग्गा–जमिन नभएकाले भूकम्पपछि शिविरमा टाउको लुकाउने जोहो गरेको उनी बताउँछिन् ।
‘अस्थायी टेन्ट मक्किएर प्वाल परेको छ,’ उनले भनिन्, ‘छोरीज्वाइँको मृत्यु भएको पनि वर्षौं भयो, नातिनीसँग बसेकी छु ।’
महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांकअनुसार जिल्लाका २६ अस्थायी शिविरमा ६ सय ७४ परिवारका ४ हजार ३ सय ४ भूकम्पपीडित बसिरहेका छन् ।
ConversionConversion EmoticonEmoticon