![]() |
कार्यदलको दुईखाले प्रस्ताव
विकल्प–१
चार रथीका जिम्मेवारी :
१, बलाधिकृत विभाग
२, कार्यरथी विभाग
३, पूर्व कमान्ड
४, पश्चिम कमाण्ड
(बलाध्यक्ष पदको व्यवस्था छैन)
विकल्प–२
तीन रथीका जिम्मेवारी :
१, बलाधिकृत
२, बलाध्यक्ष (केन्द्रीय कमान्ड)
३, कार्यरथी विभाग
............................
महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्ने दुई विकल्पसहित नेपाली सेनाको पुन:संरचनाको खाका प्रस्ताव गरिएको छ । नयाँ संविधानअनुसार सेनालाई पुन:संरचना गर्न सरकारद्वारा पूर्वरक्षासचिव वामन न्यौपानेको नेतृत्वमा गठित ५ सदस्यीय कार्यदलले तयार पारेको खाकामा पृतना संख्या घटाई त्यसलाई सञ्चालन तथा निर्देशन गर्न प्रधानसेनापति मातहतमा अपरेसन कमान्ड हेडक्वाटरको प्रस्ताव गरिएको हो । प्रस्तावअनुसार कमान्डहरूले नै पृतनालाई हेर्नेछन् ।
कार्यदलले दुई विकल्पको खाका प्रस्तुत गरेको छ । पहिलो विकल्पमा प्रधानसेनापति मातहत ४ रथी रहने व्यवस्था छ भने दोस्रो विकल्पमा ३ रथी मात्र रहने प्रस्ताव गरिएको छ । हाल सेनामा दुई रथी छन् । कार्यदलले रक्षा मन्त्रालयलाई बुझाएको खाकामा पहिलो विकल्प नै उपयुक्त हुने सुझावसमेत दिएको छ । रक्षा मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन प्रक्रिया एक महिनाअघि प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । नेपालको विद्यमान राजनीतिक व्यवस्था तथा शासन पद्धतिलाई ध्यान दिँदा प्रधानसेनापतिको प्रत्यक्ष मातहतमा हाल कायम रहेको ६ पृतनाको सट्टा कमान्ड राख्ने प्रस्ताव गरिएको छ ।
पहिलो विकल्प
प्रधानमन्त्री कार्यालयबाट प्राप्त पुन:संरचनासम्बन्धी दस्तावेजअनुसार पहिलो विकल्पमा चार रथी रहने प्रस्ताव छ, जसमा बलाधिकृत विभाग, कार्यरथी विभाग, पूर्व कमान्ड र पश्चिम कमान्डमा रथी रहने छन् । यसमा अपरेसन कमान्डका आधारमा देशलाई सैनिक दृष्टिकोणबाट दुइटा कमान्ड क्षेत्रमा विभाजन गर्ने प्रस्ताव खाकामा छ । उपत्यका विशेष क्षेत्रसहित ६ वटा पृतनालाई दुइटा कमान्ड मातहतमा राख्ने उल्लेख छ । त्रिशूली–नारायणी नदीदेखि मुलुकको पूर्वी भागको अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रलाई ‘पूर्वी कमान्ड’ र त्रिशुली–नारायणी नदीदेखि पश्चिम भागको अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रलाई ‘पश्चिम कमान्ड’ नामकरण गरी जिम्मेवारी क्षेत्र तोक्ने खाकामा उल्लेख छ ।
हालका ५ वटा पृतनाका अतिरिक्त उपत्यका विशेष क्षेत्रमा रहने उपत्यका पृतनासहित ६ वटा पृतनाहरूमध्ये पूर्वी पृतना, मध्य पृतना र उपत्यका पृतनालाई ‘पूर्वी कमान्ड’ र पश्चिम पृतना, मध्य पश्चिम पृतना र सुदूरपश्चिम पृतनालाई ‘पश्चिमी कमान्ड’ अन्तर्गत राखिनेछ । पृतनाअन्तर्गतका बाहिनी, गण, गुल्महरूको तैनाथी एवं जिम्मेवारी आवश्यकताअनुरूप निर्धारण गर्ने र हाल जंगीअड्डाको प्रत्यक्ष मातहतमा रहेको रणनीतिक विशेष बाहिनी कायमै राख्ने उल्लेख छ ।
कार्यदलले पहिलो विकल्प लागू गर्दा हालको पृतनाको जिम्मेवारीमा सामान्य फेरबदल हुने, प्रस्तावित हुने लजिस्टिक बेसहरूलाई व्यवस्थापन गर्न सजिलो हुने, देशको भौगोलिक अवस्थासँग मेलखाने र सुरक्षा चुनौतीलाई सामना गर्न सजिलो हुने फाइदा खाकामा औंल्याएको छ । कार्यदलले हालको पृतना संख्यामा थप एक वृद्धि हुने (खारेज गर्ने निर्णय भए पनि खारेज भइनसकेको उपत्यका पृतना), कम्ब्याट सपोर्टका अंगहरूको अनुपात मिलाउन कठिन हुने, हेडक्वाटरहरू अपरेसनल हुन समय लाग्ने र पृतनाको संख्या बढ्नाले लडाकु फौजको संख्या घट्न जाने बेफाइदा उल्लेख गरेको छ ।
दोस्रो विकल्प
यस विकल्पमा तीन रथीसहित एउटा अपरेसनल कमान्ड स्थापना गर्ने प्रस्ताव छ । देशलाई सैनिक दृष्टिकोणबाट एउटा जिम्मेवार क्षेत्र मानी जंगीअड्डाभन्दा तल र पृतना तहभन्दा माथि अपरेसनल तहको एउटा ‘केन्द्रीय कमान्ड’ खडा गर्ने यस विकल्पमा उल्लेख छ । हालका पाँचवटा पृतनाको सट्टा चारवटा पृतनामात्र कायम गरी केन्द्रीय अपरेसनल कमान्डअन्तर्गत राख्ने र यसका लागि हाल कायम रहेको पृतना जिम्मेवार क्षेत्रलाई पुनरावलोकन गरी देशको सम्पूर्ण भू–भागलाई सैनिक दृष्टिकोणबाट चारवटा पृतनाको जिम्मेवारी क्षेत्रमा विभाजन गर्ने कार्यदलको सुझाव छ ।
त्रिशूली–नारायणी नदीदेखि मुलुकको पूर्वी भागमा पूर्वी अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रहरू दुइटा पृतना (पूर्वी र मध्य पृतना) अन्तर्गत राख्ने र त्रिशूली–नारायणी नदीदेखि पश्चिमी भागमा अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रहरूलाई दुइटा पृतना (पश्चिम र सुदूरपश्चिम) अन्तर्गत राख्ने प्रस्ताव गरिएको छ ।
हाल कायम सम्पूर्ण बाहिनी/गण/गुल्मलाई माथि उल्लेखित चार पृतनाअन्तर्गत राख्न सकिने खाकामा उल्लेख छ । आवश्यक देखिएमा कायम रहेका गणमध्येबाट मिलाएर नयाँ बाहिनी स्थापना गरी चारवटा पृतनाअन्तर्गत नै राख्न सकिनेसमेत उल्लेख छ । हाल जंगीअड्डाको प्रत्यक्ष मातहतमा रहेको रणनीतिक स्पेसल फोर्स र जगेडा बाहिनीलाई मिलाएर जंगीअड्डाअन्तर्गत एउटा नयाँ पृतना तहको रणनीतिक फोर्स स्थापना गर्न सकिने कार्यदलको प्रतिवेदनमा छ ।
विकल्प दुईमा हालको पृतनाको संख्या एउटा कम हुने, रिर्जभ फौजहरू व्यवस्था गर्न सजिलो हुने, कम्ब्याट सपोर्टका अंगहरूसँग समन्वय गर्न सजिलो हुने, तत्कालै कार्यान्वयन गर्न सकिने र पृतनाको संख्या घट्नाले लडाकु फौजको संख्या बढ्न जाने फाइदा औंल्याइएको छ । यसका बेफाइदामा कमान्ड कन्ट्रोल गर्न तुलनात्मक रूपमा कठिनाइ पर्ने, पृतनाहरूको जिम्मेवारी क्षेत्र बढ्न जाने र स्रोत साधन परिचालन तथा नियन्त्रण गर्न कठिनाइ हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
सेना र कार्यदलको प्रस्ताव फरक–फरक
नेपाली सेनाले जंगीअड्डाबाट बुझाएको पुन:संरचना प्रस्तावमा भने नयाँ संविधानमा उल्लेख भएअनुसार ७ प्रदेशलाई लक्षित गरेर एक/एक पृतना राख्ने प्रतिवेदन सरकारलाई बुझाएको छ, जसमा उपत्यकामा हाल रहेको छुट्टै पृतनालाई कायम राख्ने प्रस्ताव गरिएको छ । हाल ५ विकास क्षेत्रमा रहेका ५ पृतना र उपत्यकामा थप एक पृतना छन् । सेनाले उपत्यका पृतनालाई कायमै राखेर ७ प्रदेशमा ७ पृतना राख्ने खाका प्रस्तुत गरेको हो । सेनाले प्रस्तुत गरेको पुन:संरचनाको खाका र न्यौपानेको संयोजकत्वमा बनेको कार्यदलले प्रस्तुत गरेको प्रस्ताव फरक–फरक छन् ।
सरकारले न्यौपानेको नेतृत्वमा बनाएको कार्यदलमा रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवप्रसाद सिंखडा सदस्यसचिव थिए भने अन्य तीन सदस्यमा दुई पूर्वसहायक रथी र एक बहालवाला सहायक रथी थिए ।
संविधानको धारा २६७ मा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ’ भनिएको छ । कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा पुन:संरचनाका लागि नेपालजस्तै संघीयता भएका अन्य मुलुकको उदाहरण हेर्ने, छिमेकी मुलुकको अध्ययन गर्ने र अन्य नयाँ कुराको अध्ययनसमेत गरेको थियो । हाल मुलुकमा करिब ९६ हजार सेना छन् ।
मन्त्रिपरिषद्ले न्यौपाने कार्यदलको खाका या जंगीअड्डाको प्रस्ताव कुन उपयुक्त छ भनेर अध्ययन गरी कुनै एउटा अनुमोदन गरेपछि सेनाको पुन:संरचना हुनेछ । रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले न्यौपाने कार्यदलका दुई विकल्पसहितको खाका र जंगीअड्डाको प्रस्तावमाथि अध्ययन थालेका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon