'Neapthya' Korea International Hall


भाद्र १२, २०७३- कोरियामा छुसक पर्व नजिकिँदै गर्दा नेपाली संघसंस्थालाई उतिकै चटारो भएको छ । सेप्टेम्बर १४ देखि १६ सम्म मनाइने यो पर्वका लागि ४ वटा संस्थाले नेपाली सांस्कृतिक कार्यक्रम गर्न लागेका छन् । यति बेला उनीहरू हलदेखि कलाकार, टिकट, प्रचारप्रसार, यातायात व्यवस्थापनसम्म लागि परेका छन् । आयोजकले एउटा सिजनको यो पर्वका लागि दुई दर्जनभन्दा बढी कलाकारसँग सम्झौता गरिसकेका छन् । केही संस्थाहरूले भने अधिवेशन, भेटघाट, चिठ्ठा, रमाइलो साँझजस्ता कार्यक्रम तर्जुमा गरिरहेका छन् ।

कोरियामा अहिले ४० हजार बढी नेपाली छन् । उनीहरूमध्ये अधिकांशले ‘नेपथ्य ब्यान्ड’ को लाइभ प्रस्तुति हेर्ने आफ्नो रोजाइ रहेको प्रतिक्रिया दिएका छन् । नेपाल तामाङ संघ कोरियाले सेप्टेम्बर १५ मा ‘नेपथ्य–कोम्हेन्दो डाङ’ (नेपथ्य र टोटलाको फूलको कोसेली) आयोजना गर्न लागेको हो । ब्यान्डले ‘केबीएस एरिना’ हलमा आफ्नो प्रस्तुति दिने भएको छ । गत वर्ष मात्र स्थापना गरिएको यो अन्तर्राष्ट्रिय स्तरको हल हो । यसमा विश्वस्तरीय साउन्ड सिस्टम, लाइट र फुल एयर कन्डिसनको सुविधा छ । संसारमै चर्चा कमाएका ‘ओपन गाङनम स्टाइल...’का र्‍यापर गायक साई लगायत ‘बिग बेङ’, ‘सुपर जुनियर’, ‘एक्सो’, ‘गर्लस् जेनेरेसन’, ‘वन्डर गर्लस्’ जस्ता नामी म्युजिक ब्यान्डहरूले यो हलमा प्रस्तुति दिइसकेका छन् । यसअघि नेपथ्यले विश्व प्रख्यात ‘बेम्बली एरिना’ हलमा प्रस्तुति पस्किसकेको छ ।
कोरियाको यस्तो अत्यन्त सुविधाजनक अन्तर्रार्िष्ट्रय हलमा नेपाली कलाकारहरूले भने पहिलोपटक प्रस्तुति दिन लागेका हुन् । नेपथ्य लाइभ कन्सर्टका लागि आयोजकले हजारौं दर्शक उतार्ने तयारी गरिरहेको छ । दर्शकहरूको मागलाई ध्यानमा राखेर टिकट वितरण तीव्र बनाइएको संघका महासचिव मेघप्रसाद वाइबाले बताए । उनका अनुसार विभिन्न सहरहरूबाट बसको व्यवस्थासमेत गरिएको छ । यहाँ रहेका दर्शकहरूको भावनालाई समेट्न नेपथ्यले पनि आफनो नयाँ पुराना गीतहरू ‘तालको पानी...’, ‘छेक्यो छेक्यो...’, ‘जोमसोमै बजारमा...’, ‘भेडाको उन जस्तो...’, ‘सा कर्णाली...’, ‘जीवन हो घामछाया...’, ‘रेशम...’ र भर्खरै सार्वजनिक नयाँ गीत ‘कोसीको पानी...’ जस्ता लोकप्रिय गीतसंगीत प्रस्तुत गर्ने तयारी गरिरहेको छ । ब्यान्डका मुख्य आकर्षण रहेका गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले सघाउने बताइएको छ ।
सेप्टेम्बर १५ कै दिन ‘कन्काई सांगीतिक सौगात’ झापा मिलन समाजले गर्न लागेको छ । समाजले कोरियामा सञ्चालन गरिरहेको ‘पाथिभरा हाउस’ को व्यवस्थापन गर्न यो सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । यसका लागि समाजले गायक, दीपक लिम्बू, अल्मोडा राना उप्रेती, प्रमोद खरेल, गायिका इन्दिरा जोशी, नायिका प्रियंका कार्की र हास्यकलाकार विल्सनविक्रम राईलाई आमन्त्रण गरेको छ । यो सौगात कोरियाकै पुरानो मानिने यन्से विश्वविद्यालय हलमा गर्न लागिएको हो । समाजले कोरियामा आपतवपतमा परेका नेपाली कामदारका लागि ‘पाथिभरा हाउस’ नामक सेल्टर सञ्चालन गर्दै आएको छ । यसै दिन बागलुङ सम्पर्क समितिले पनि ‘धौलागिरि सांगीतिक सौगात भाग ३’ गर्न लागेको छ । समितिले गायक अनिल सिंह, योगेश काजी, प्रकाश सपुत, गायिका मेलिना राई, प्रीति आले, नृत्यकार रिमा गुरुङ र हास्यकलाकार जितु नेपालसँग सम्झौता गरिसकेको अध्यक्ष याम श्रीश मगरले जानकारी दिए । कार्यक्रमको उद्देश्य जिल्लाको दुर्गम क्षेत्रमा स्वास्थ्य र शैक्षिक विकास गर्न रहेको छ ।
छुसक पर्वको पहिलो दिन सेप्टेम्बर १४ तारिक जिल्लाका असहाय बालबालिकाको सहयोगार्थ चितवन सम्पर्क समितिले पनि ‘चितवन धमाका’ प्रस्तुत गर्ने योजना बनाइरहेको छ । यसमा गायक राजु लामा, खुमन अधिकारी, गायिका शान्तिश्री परियार, सन्जना श्रेष्ठ र हास्यकलाकार सुदीप क्षेत्री आउने भएका छन् । कोरियाली समाजमा ‘थ्यांक्स गिभिङ डे’ मानिने छुसक पर्वमा तीन दिन बिदा हुने भएकाले विभिन्न क्षेत्रमा रहेका नेपाली कामदार भेटघाट, रमाइलो गर्ने गर्छन् ।

Previous
Next Post »