![]() |
भाद्र १२, २०७३- नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभन्ज्याङमा दुई दिनअघि भएको बस दुर्घटनामा परि बेपत्ताका आफन्तजन प्रहरी कार्यालय, अस्पताल र घटनास्थलमा भौतारिरहेका छन् । उनीहरु सास वा लाश भेट्टिने आशमा प्रहरीलाई खोजीमा सक्रियता देखाउन अनुरोध गरिरहेका छन् ।
बस दुर्घटनामा प्रहरीले ३९ यात्रु र ३ चालक सहस्य सहित ४२ जना रहेको जनाए पनि आइतबारसम्ममा बेपत्ता भएको भन्दै प्रहरीमा एक भारतीय सहित १२ जनाले खोजतलासको निवेदन दिएका छन् । ती सबै बीचबाटोबाट चढेको आफन्तको दाबी छ ।
प्रहरीले चलान अनुसार ४ जनामात्र बेपत्ता भएको भन्दै खोजी गरिरहेको छ । शिक्षक सेवा आयोगको परीक्षा दिन गाउँबाट आएकाहरु बीचबाटोबाट चढेकाले बस कर्मचारीले उनीहरुको रेकर्ड नराखेको बेपत्ताका आफन्तले दाबी गरेका छन् ।
केहीले बेपत्ता भएकाहरुको झोला फेला पारेका छन् । दुर्घटनामा बसका चालक लोकराज पौडेल सहित २२ को मृत्यु भएको थियो । आफन्तले शनिबार रातिसम्म सबै शव बुझी लगेको प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए ।
गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस चण्डीभन्ज्याङ गाविस-६ कालीखोलाबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा चार भारतीय सहित २२ यात्रुको ज्यान गएको थियो । घटनामा १६ जना घाइते भएका थिए ।
बाटोबाहेक गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ९ यात्रु लिएर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साढे ३ बजे नदीमा खसेको थियो । मृतकमा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष २ महिला र ५ बालक घाइते छन् ।
सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली सहित घटनास्थल वरपर गोताखोरहरु खोजीमा जुटे पनि आइतबारसम्म बेपत्ता कोही फेला परेको छैनन् ।
जिल्ला प्रहरीमा रौतहटको गरुडा-५ का सन्जयकुमार यादव, मुडवलवा-२ का रामबालकप्रसाद जैसवाल, रविरन्जन यादव, मुकेश राम, राजपुर फरदहवा-६ का ललनकुमार कलवार, खेसैरया-७ का बिश्वनाथ साह, झुन्खुनुअवा-८ का दीपेन्द्र साह, कटहरिया-४ का शम्भुप्रसाद यादव, गौर नपा-१ का राकेशकुमार गुप्ता, चन्द्रपुर-१ की पुनम देवीसाह, र सर्लाही सुदामा-८ का राजिवकुमार सिंह लगाएत १२ बेपत्ता भएको भन्दै खोजतलासको लागि आफन्तको निवेदन परेको एसपी कुँवरले जनाए ।
उनले भने, ‘निवेदन परेको व्यक्तिहरुको नाम चलानमा देखिँदैन । यसबारे गहिरिएर अनुसन्धान सुरु गरेका छौं ।’ प्रहरीले चारजनामात्र बेपत्ता भएको बताउँदै आएको छ ।
बेपत्ताका आफन्तलाई बसमा चढेको प्रमाण जुटाउन प्रहरीले अनुरोध गरेको छ । बेपत्ता भएकाहरुको निवेदन हेर्दा बसमा सिट भन्दा बढी यात्रु राखेको देखिन्छ । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआइजी पशुपति उपाध्याय घटनास्थल पुगेर बेपत्ताको खोजीबारेमा सोधपुछ गरेका छन् ।
उनले अस्पतालमा उपचार गराइरहेका घाइतेलाई समेत भेटेका थिए । प्रहरीमा परेको निवेदनका बारेमा उपाध्यायले यथार्थ पत्ता लगाउन निर्देशन दिए । ‘वास्तविक हराएका हुन् वा होइन भन्ने पत्ता लगाउन भनेको छु,' उनले भने, ‘उनीहरु बसमा चढेको कुनै प्रमाण फेला परेको छैन ।’
बेपत्ता मध्ये गरुडाबाट चढेका राजविकुमार सिहको घटनास्थलमा उनको झोला फेला परेको छ । उनका आफन्त अरबिन्द सिंहले बीचबाटोबाट चढेकाहरुको टिकटमात्र हुने र चलानीमा नाम नहुने बताए ।
![]() |




ConversionConversion EmoticonEmoticon