When 1 hour Khemaraaj body was brought KHANDBARI ...


भाद्र १२, २०७३- वारि जमुना पारि जमुनाका गायक खेमराज गुरुङको पार्थिव शरिर गृह जिल्ला संखुवासभामा ल्याएर अन्तिम श्रद्धाञ्जली दिइएको छ । शुभचिन्तक र जिल्लाबासीले आग्रह गरेपछि गुरुङको पार्थिव शरिर संखुवासभा सदरमुकाम खाँदबारीमा एक घण्टाका लागि आइतबार हेलिकप्टरबाट ल्याएको थियो ।

खेमराजको पार्थिव शरिर ल्याउने खबर पाएपछि गाउँगाउँबाट उनका शुभचिन्तक खाँदबारीको टुडिँखेलमा भेला भएका थिए । उनको शव टुडिँखेलमा राखिएपछि सबै स्तब्ध बनेका थिए । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेनाका गुल्मपति, प्रहरी नायव उपरीक्षक, शसस्त्र प्रहरीका निरीक्षकले पनि उनलाई श्रद्धाञ्जली दिएका थिए ।


खेमराजका समकक्षी कान्तिपुर टेलिभिजनका पत्रकार दीपेन्द्र वान्तवाले सबैले एकपटक पार्थिव शरिर भएपनि जिल्ला ल्याउनुपर्ने भनेपछि एक घण्टाका लागि ल्याइएको बताए । उनले भने, 'सबैको इच्छा अन्तिम पटक उनलाई हेर्ने थियो ।'

एक घण्टा पछि उनलाई राजधानी नै लगिएको थियो ।
हेलिकप्टर जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा राखिएको थियो । उनको पार्थिव शरिर लिएर  गायक नवीन खड्का, पत्रकार दीपेन्द्र वान्तवा, उनका भान्जा मणी शेखर गुरुङ, टीकाराम गुरुङ र जेठा छोरा आएका थिए । २०३१ साल माघ १ गते खाँदबारीमा जन्मेका खेमराजले सदरमुकामको हिमालय माध्यमिक विद्यालयमा अध्यायन गरेका थिए ।



गुरुङले ०५७ र ०५८ मा म्यूजिक नेपाल पुरस्कार, ०५८ मा छिन्नलता युवा प्रतिभा पुरस्कार, मनकामना महोत्सव ०५८ मा कदरपत्र, भोजपुर साहित्य कला, संगीत महोत्सव सम्मान, हिट्स एफएम रेकर्ड अफ दि इयर, म्यूजिक नेपाल दशक पुरस्कार ०६०, प्रबल गोरखा दक्षिणबाहु चौथा ०६१, इमेज अवार्ड ०६२ लगायत विभिन्न संघसंस्थाबाट प्रशंसापत्र र पुरस्कार पाएका थिए ।

कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका खेमराजको बिहीबार मृत्यु भएको थियो । खेमराजको श्रीमती र २ छोरा छन् । उनको आइतबार पशुपति आर्यघाटमा गुरुङ परम्पराबाट अन्तिम संस्कार गरिने छ ।


Previous
Next Post »