![]() |
भाद्र १२, २०७३- दुई साता अघि चितवनको नारायणी नगरपालिकामा करेन्ट लगाएर गैंडा मारेको अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
पक्राउ परेका ९ मध्ये एकलाई धरौटी र बाँकीलाई भने साधारण तारेखमा छाडिएको छ । थुनामा राख्न आदेश दिएकामध्ये दुई भारतीय छन् ।
नारायणी नगरपालिका– १ स्थित मेघौलीमा चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराईका प्रबन्धक रितेश भट्ट, होटलका प्रकृति बिशेषज्ञ दिपु शशी, प्राविधिकहरु सुनिल महतो र जीवन महतोलाई न्यायाधीश टेकनारायण कुँवरको इजलासले यस्तो आदेश गरेको हो । शशि र भट्ट भारीय नागरिक हुन् ।
तत्काल प्राप्त प्रमाणहरुलाई थुनछेक प्रायोजनार्थ प्रमाणको आधारमा पुर्पक्षका निमित्त थुनामा राख्ने आदेश भएको अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । उनले भने, ‘घट्नामा पक्राउ परेका नवलपरासीका सुवास गदाललाई ५० हजार धरौटी तारेखमा छाड्ने आदेश भएको छ ।’
पक्राउ परेका विकास दराई, गिर्जा महतो, बुद्धराम चौधरी र गृजराज कछडियालाई साधारण तारेखमा छाड्न आदेश भएको बरालले जनाए । गैंडाको मृत्युपछि निकुञ्ज प्रशासनले अनुुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरेको थियो । गएको साउन २४ गते होटलको हात्तीसार नजिकै करिव २ सय मिटर जंगलतर्फ भङामा करेन्ट लागेर १२ बर्ष उमेरको पोथी गैंडाको मृत्यु भएको थियो ।
होटल कार्मचारीको लापरबाहीले करेन्ट छाड्दा गैंडा मरेको निकुञ्जको आरोप छ । पक्राउ परेकाहरुका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, सुशीलकुमार पन्त सहितले बहस गरेका थिए भने सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक उदयचन्द्र अधिकारीले बहस गरेका थिए ।
![]() |


ConversionConversion EmoticonEmoticon