![]() |
भाद्र १२, २०७३- निरन्तरको अनुगमन र लिखित चेतावनीले पृथ्वीराजमार्गका होटलमा सुधार देखिन थालेको छ ।
स्थानीय प्रशासन, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल लगायतका सरोकार निकायको नियमित अनुगमन गर्न थाले पछि धादिङस्थित राजमार्ग क्षेत्रका होटलमा सुधार देखिएको स्थानीय प्रशाासनको दाबी छ ।
राजमार्गका होटलले दिने सेवा र यसको गुणस्तरमाथि चौतफी गुनासो बढेपछि सरकारी निकायलाई हस्तक्षेप गर्न बाध्य बनाएको थियो । ‘खानपिनमा चित्त नबुझे सिधै फोन गरेर गाली गर्छन्, राम्रो व्यवस्थापन नभए वा अनुमगन नगरे सामाजिक सञ्जालमै लेखि दिन्छन्,’ अनुगमन अधिकृत सहायक प्रजिअ लिलाधर अधिकारीले भने, ‘हामीले नियमीत अनुगमन गरिरहेका छौं ।’
स्थानीय प्रशासनले ‘व्यवसायिक दर्ता, मदिरा बेच्न इजाजत, सरसफाई, ग्राहकलाई गर्ने व्यवहार, बालश्रमको प्रयोग, म्याद नाघेका खाद्य पदार्थको बेचविखन’ लगायत विषयमा कडाईका साथ अनुगमन बढाएको जनाएको छ ।
जिल्लास्तरीय मूल्य निर्धारण समितिले निर्धारण गरेको मूल्यसूचि नटाँसे कार्वाहीको दायरामा ल्याइएको छ । ‘निर्धारीत मूल्यमा नबेच्ने ५ जना संचालकलाई कार्वाहीको दायरामा ल्याएका छौं,’ अधिकारीले भने ।
पृथ्वीराजमार्गको धादिङ खण्ड देशभरका जिल्लाबाट प्रमुख रुपमराजधानी जाने र बाहिरिने सार्वजनिक सवारी साधन र ढुवानी साधनले प्रयोग गर्छन् । पृथ्वीराजमार्गको ८६ किलोमिटर दुरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोलादेखि नौबिसेको झयप्ले खोलासम्म सानादेखि ठुलासम्म ८ सय होटल सञ्चालनमा छन् ।
‘दैनिक ३२ हजार सार्वजनिक सवारी साधनका यात्रुहरु मध्ये कम्तिमा १६ हजारले खाना र नास्ता मात्रै खाने गरेको प्रारम्भिक अध्ययन गरेका छौं,’ जिल्लास्थित खाद्य अधिकार सुरक्षा सन्जालका फिल्ड संयोजक राजेन्द्र बस्नेतले बताए ।
राजमार्गका होटल व्यवसायीलाई यात्रुहरु ठग्न बढी मुल्य लिने गरेको, बासी र न्युन गुणस्तरको खाना दिने गरेको दर्ता नगरी होटलहरु संचालन नगरेको, चालकलाई मदिरा र गाँजा बेच्ने गरेको आरोप लाग्ने गरेको छ ।
सार्वजनिक सवारी साधनका मालिकलाई आफ्नो होटल अगाडी बस रोक्न होटल संचालकले डेढ लाखसम्म रकम अग्रिम पेश्की बुझाएका हुन्छन् । बस मालिककै निर्देशन अनुसार चालकले होटल अगाडी बस रोके वापत मासिक ५ देखि ८ हजारसम्म कमिशन होटलबाट असुल्ने गर्छन् । सवारी साधनका स्टाफलाई मिठो र रोजे अनुसारको खानपिन व्यवस्था निशुल्क नै हुन्छ ।
यस्तै विविध कारणले गर्दा राजमार्गका होटलले चर्को मुल्य लिएको गुनासोपछि स्थानीय प्रशासनले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालको संयोजकत्वमा मूल्य समायोजन गर्न समिति गठन गरेको थियो । समितिले अनुगमन गरि १ सय ५० देखि २ सय ५० सम्म तोकेको छ । समितिको सिफारिसको आधारमा स्थानीय प्रशासनले फागुन १ गते देखि नै लागु २६ प्रकारका खाना र नाश्ताको मूल्य निर्धारण गरि मूल्यसूचि राख्न सबैलाई परिपत्र गरेको थियो ।
होटल व्यवसायी संघका अध्यक्ष राजकुमार प्याकुरेलले सबैभन्दा बढी यात्रु चाप हुने नौबिसे, धार्के, थाँक्रेका होटलले निर्धारित मूल्यसूचि अटेर गरेको भए पनि अरु सबै होटलले स्थानीय प्रशासनकै मूल्य नै कायम गरेको बताए ।
![]() |



ConversionConversion EmoticonEmoticon