![]() |
भाद्र १२, २०७३- रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्विक मापदण्ड मिचेर बनाएका संरचना भत्काउन पुरातत्व विभागले आइतबार काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ ।
महानगरले रानीपोखरी पुनर्निर्माण गर्दा रड, सिमेन्ट र कंक्रिट प्रयोग गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए । ‘मापदण्ड मिचिएका संरचना भत्काउन निर्देशन दिंदै आज पत्र पठाएका छौं,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘पुरातात्विक महत्वका सम्पदा बनाउँदा सकेसम्म परम्परागत निर्माण समाग्रीबाट काम गर्नुपर्छ ।’
रानी पोखरीको बीचमा रहेको वंशगोपाल मन्दिर जीर्णाेद्धार गर्ने क्रममा कंक्रिट प्रयोग भएपछि त्यसलाई भत्काएर पुरानै स्वरुपमा निर्माण गर्न स्थानीयवासीले माग गरेका थिए । गत वर्ष गएको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि काठमाडौं महानगरपालिकाले यसको पुनर्निर्माण थालेको थियो ।
महानगरले भने पत्र हेरेपछि के गर्ने भनेर निर्णय गर्ने जानकारी दिएको छ । ‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं,’ महानगरका निमित्त कार्यकारी प्रमुख सनद थापाले भने, ‘पहिला पत्र हेरौं । त्यसपछि के गर्ने भनेर विचार गर्छाै ।’ पुरातात्विक महत्त्वको स्थल भएकाले पुरातत्व विभागले दिएको जुनसुकै आदेश महानगरले मान्नुपर्ने उनको भनाइ छ ।
महानगरले पहिला पनि रड, सिमेन्ट र कंक्रिट प्रयोग गरेकाले त्यही अनुसार पुनर्निर्माण गरेको दाबी गरेको थियो । पानी मुनिको सतह बलियो बनाउनु पर्ने भएकाले कंक्रिट प्रयोग गरेको दाबी गरेको थियो । पुरातत्वले भने महानगरको उक्त दाबीलाई निराधर भन्दै आएको थियो ।
प्रताप मल्लले आफ्ना माइला छोराको मृत्यु भएपछि शोकमा रहेकी आफ्नी रानीलाई भुल्याउन रानीपोखरीको निर्माण गरेका थिए । विसं १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर भुइँचालोले क्षतिग्रस्त बनाएको थियो ।
करिब ११ करोड रुपैयाँ खर्च गरेर महानगरले यसको पुनर्निर्माण गर्ने योजना बनाएको हो ।
पोखरीको बीचभागमा शिवलिङ्ग, महिशाशुर मर्दिनीको प्रतिमा राखिएको छ । प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु पछि शोकाकुल बनेकी रानीलाई भुल्याउन रानीपोखरी निर्माण गर्न लगाएका हुन् ।
![]() |


ConversionConversion EmoticonEmoticon