![]() |
भाद्र ११, २०७३- साउदी अरबमा तेश्रो मुलुकको बाँटो हुँदै पुर्याएका घरेलु कामदार (हाउसमेड)को समस्या फेरी बढ्न थालेको छ ।
साउदीस्थित नेपाली दुतावासका अनुसार न्युनीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा बिगत झैं फेरि समस्या तथा आपतविपतमा परेर हाउसमेडहरु आउनेक्रम बढेको छ । ‘हाम्रो सेल्टर रित्तिसकेको थियो । कहिलेकाँही मात्रै आउने अवस्था बनेको थियो,' साउदीका लागि कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले भने,‘अहिले पहिलाकै जसरी बिचल्लीमा परेर भागेर आउने हाउसमेडको समस्या बढेको छ ।’
दुतावासको रेखदेखमा २४ जना पीडित महिलाहरु छन् । जसमा दुताबासकै सेल्टरमा ११ जना साउदी सरकारको घरेलु कामदार विभागको सेल्टरमा १३ जना छन् । ‘उनीहरु स्वदेश पठाउने प्रक्रियामा छन् । आवश्यक प्रक्रिया पुरा गरेपछि मात्रै फिर्न सक्छन्,' उनले भने ।
सरकारले खाडीमा हाउसमेड पठाउने समयमा समेत रियादस्थित नेपाली दुताबासले स्थानीय स्पोन्सरलाई अनुमति दिएको थिएन् । कुवेत, युएई र ओमनमा साउदी नागरीक आफैं पुगेर हाउसमेड लिएर जान्थे । त्यतिखेर दुतावासले साउदी र कुबेतका उच्च सरकारी तहमा साउदी नागरीकले आउदा ल्याएको हाउसमेड जाँदा पनि साथमै हुनुपर्ने भन्दै बारम्बार ध्यानकर्षण जनाएका थिए । दुतावासको ध्यानाकर्षण पछि साउदी र कुवेतका अध्यागमनले पनि कडाई गरेको थियो ।
पछिल्लो समयमा हाउसमेड अभाव भएपछि दुबै देशले कडाई गर्न छाडेका छन् । नेपाललाई बारम्बार हाउसमेड माथि लगाएका प्रतिबन्ध हटाउन र श्रम सम्झौता गर्न साउदीले अग्रसरता देखाउँदै आएपनि नेपाली पक्षबाट आबश्यक काम भएको छैन् । ‘सेल्टरमा जति महिलाहरु आएका छन् । उनीहरु सबै कुबेत र युएईमा काम गर्न आएका महिलाहरु छन्,' उनले भने,‘साउदीकै लागि आएकाहरु एकदमै कम छ ।’
हाउसमेड पाउन छाडेपछि स्पोन्सरहरुले काम गरिरहेकाहरु पनि स्वदेश पठाउन रोक लगाएको छ । चार बर्षसम्म घर नपठाएपछि भागेर दुताबासमा आइपुगेकी सिन्धुपाल्चोककी रुपरानी तामाङले दिएको बयानमा उल्लेख छ,‘बीचमै आउछ भनेर होला चार बर्षसम्म काम गर्दा पनि तलब दिएन ।’ दुताबासले रुपरानी र बाँकेकी पुजा सुनारलाई उद्धार गरी स्वदेश पठाएको छ ।
साउदीमा तेश्रो मुलुकबाट घरेलु कामदार ल्याउने प्रक्रिया झन बढेको उनले बताए । कञ्चनपुरकी आयशा कार्कीले भारत-चीन-श्रीलंका हुदै साउदी ल्याएको बताइन् । ‘युएईको होटलमा काम गर्न भनेर हिडेको थिए । दलालले एकपछि अर्को हिसाबले झुक्काएर साउदी ल्याइदिए,' तीन महिनादेखि सेल्टरमा बस्दै आएकी कार्कीले भनिन् । दुताबासले सेल्टरमा भएकी महिलाका लागि टिकट जुटाउने काम भइरहेको जनाएको छ । कार्कीलाई गैरआवासीय नेपाली संघ, साउदीले टिकट दिएको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon