Carin red carpet in Sydney


भाद्र १२, २०७३- आफ्नो चलचित्रको प्रदर्शनका लागि अष्ट्रेलियाका आइपुगेका नायक आर्यन सिग्देललाई सिड्नीमा रेड कार्पेटमा भव्य स्वागत गरिएको छ ।

नायक सिग्देल आफ्नो पछिल्लो चलचित्र क्लासिकको अष्ट्रेलिया प्रदर्शनका लागि सिड्नी आइपुगेका हुन् । उनी र नम्रता श्रेष्ठद्वारा अभिनित उक्त चलचित्रको सिड्नीको मुटुमा रहेको प्रतिष्ठित सिनेमा घर इभेण्ट सिनेमामा पहिलो प्रदर्शनी गरिएको थियो ।

उक्त सिनेमा घर हलिउड चलचित्रहरुको समेत पहिलो शो गर्ने सिनेमाघरका रुपमा चिनिन्छ । उक्त चलचित्र प्रदर्शनको कार्यक्रममा सहभागी सिग्देललाई अष्ट्रेलियामा रहेका नेपालीहरुले रेड कार्पेट ओछ्याएर स्वागत गरेका थिए । कालो सुटमा सजिएर रेड कार्पेटमा हिँडिरहन्दा उनलाई छेउमा रहेका नेपाली फ्यानहरुले ताली बजाएर स्वागत गरेका थिए ।

वरिपरि आफ्ना शुभेच्छुकहरुका साथ घेरिएर रेड कार्पेटमा हिडेका नायक सिग्देलसँग सेल्फी खिच्नेको भीड पनि उत्तिकै थियो । अष्ट्रेलियाका नेपाली दर्शकहरुले दिएको सम्मानले खुशी देखिएका उनले एक कलाकार भएर यहाँ आएर यस्तो सम्मान पाउनु राम्रो भएको प्रतिक्रिया दिए । अष्ट्रेलियाका दर्शकहरुले नेपाली कलाकारहरुलाई दिएको माया र सम्मान देखेर आफूलाई नेपाली कलाक्षेत्रमा अझ लागि पर्न प्रेरणा दिएको समेत सुनाए । ‘एउटा कलाकार भएर हामीले पाउने मुख्य कुरा भनेकै दर्शकको माया र प्रेम हो जुन मैले यहाँ आशा गरेभन्दा धेरै पाएँ,’ उनले भने ।

दृष्टिबिहीनको भूमिका नायक नायिकालाई देखाइएको चलचित्र क्लासिकलाई नेपालमा मात्र नभएर अष्ट्रेलियामा समेत मन पराइएको थियो । अल्प इन्टरटेनमेन्टले अष्ट्रेलिया भित्र्याएको सो चलचित्र अन्य शहरहरुमा समेत प्रदर्शन गरिने उक्त संस्थाका मनोज अधिकारीले जानकारी दिए ।

चपली हाइट पनि प्रदर्शित
नेपाली चलचित्रहरुका लागि राम्रो बजार बन्दै गइरहेको अष्ट्रेलियामा शुक्रबार सोही सिनेमा घरमा ‘चपली हाइट २’ समेत प्रदर्शन गरिएको थियो । कमेरो इभेन्टसले प्रदर्शन गरेको उक्त चलचित्रलाई समेत दर्शकहरुले उत्सुकताका साथ हेरेका थिए ।

इभेन्टसका राजीव भुषालका अनुसार करिब २ सय ५० जना दर्शकहरुले उक्त चलचित्र हेरेका थिए । चलचित्र हेरेर निस्किएका दर्शकहरुमा युवाहरुले उक्त चलचित्रलाई धेरै मन पराएको उनले जानकारी दिए ।

यसैगरी अष्ट्रेलियामा करिब आधा दर्जन नेपाली चलचित्रहरु प्रदर्शनको तयारीमा छन् । जसमा गाँठो, पुरानो ढुंगा, बिर बिक्रम, छक्का पञ्जा लगायतका चलचित्रहरु प्रदर्शनको तयारी गरिएको हो ।

Previous
Next Post »