![]() |
भाद्र ८, २०७३- काठमाडौं–निजगढ द्रुतमार्गको भविष्य स्वार्थको चक्रव्यूहमा पर्ने आशंका बढेको छ । राजधानीलाई मात्र ५९ मिनेटमा ७६ किमिको अत्यन्त छोटो दूरीमा मात्रै यसले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ जोड्नेछ । मूलत: हवाई कार्गो ढुवानी तथा कनेक्टिभिटीका हिसाबले यसको अत्यन्त ठूलो महत्त्व रहेको तथ्य स्वत:सिद्ध छ ।
राष्ट्रिय गौरव
एसियाली विकास बैंकको अध्ययनअनुसार यसको निर्माण लागत सन् २००८ मा करिब ५६ अर्ब अनुमान गरिएको थियो भने अहिले सन् २०१६ मा १ सय १२ अर्बको प्रस्ताव रहेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा २०६६ कात्तिक २३ देखि नेपाली सेनाले यसको ट्रयाक खोल्ने कार्य थालनी गरेको थियो । र हाल ९० प्रतिशतभन्दा बढी ट्रयाक खोल्ने काम पुरा भएको छ ।
त्यसै बेलादेखि यसलाई सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा लिँंदै आएको छ । २०७३/०७४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा उल्लेख गर्नुभएको पाइन्छ– ‘काठमाडौं–निजगढ द्रुतमार्ग नेपाल सरकारको लगानीमा आगामी आर्थिक वर्षदेखि सुरु गरिनेछ । (बुँदा नं. ५९, पृष्ठ १५) ।
यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत २०७३/०७४ को बजेट वक्तव्यमा उल्लेख छ, ‘नेपालको आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने चीरप्रतिक्षित... द्रुतमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि प्रारम्भ गरिनेछ । यसको अङ्गका रूपमा बुधुने–हेटौंडा द्रुतमार्ग निर्माण गर्ने व्यवस्था मिलाएको छ । यसका लागि १० अर्ब रुपियांँ बजेट विनियोजन गरेको छु । आयोजना कार्यान्वयनको लागि आवश्यक प्राविधिक जनशक्तिसहितको विशिष्टीकृत आयोजना कार्यालय स्थापना गरिनेछ (बुँदा ५५, पृष्ठ १५) ।
व्यवस्थापिका संसद्को अर्थ समिति अन्तर्गत यस विषयमा छुट्टै उपसमिति नै गठन गरी अध्ययन र निष्कर्ष निकाल्ने काम भएको छ । सांसद केशव बडालको संयोजकत्वमा २०७२ साउन २० गते अर्थ समितिद्वारा गठित उपसमितिको निष्कर्ष रहेको छ, ‘यो काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनालाई नेपाल सरकार आफैंले निर्माण एवं सञ्चालन गर्नुपर्छ ।
यसका लागि अन्तर्राष्ट्रिय स्तरका कम्पनी वा संस्थापकबीच खुला प्रतिस्पर्धा गराई अघि बढ्नु मुलुकको हितमा हुने देखिन्छ’ (व्यवस्थापिका संसद् अर्थ समिति, वार्षिक प्रतिवेदन, २०७२, पृष्ठ ६६) । यो आयोजनामा अन्यथा निर्णय गर्न खोज्नु प्रमुख प्रतिपक्षसँग सिधा टक्कर निम्त्याएर संसद्को निर्णयको बर्खिलाप जानु हुनेछ ।
![]() |


ConversionConversion EmoticonEmoticon