Lokman Governance Committee accomplice: Casey

श्रावण १७, २०७३- प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाएका छन् । समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताएका हुन् ।

‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ । तर, समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले कान्तिपुरसँग भने, ‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन् ।’ संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो ।

उनले आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताए । समितिले आफूलाई आइदिन बारम्बार आग्रह गरेको भन्दै केसीले भने, ‘अरुलाई बोलाउने समितिले लोकमानलाई नबोलाएर मुद्दा सेलाउन खोजेको हो कि जस्तो देखिन्छ । विरामी परेर ७ दिन आउन नसकेका हुन् भने आठौं, नवौं, दशौं दिन बोलाउन सकिदैनथ्यो ?’ अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएका थिए ।  

काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको भन्दै प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनु पर्ने सहितका मागमा डा. केसीले १५ दिन अनसन बसेका थिए । डा.केसीले नेपाल मेडिकल काउन्सिलका गडबडी, भाइ/भतिजाको किष्ट मेडिकल कलेजको सिट संख्या निर्धारण, विराट मेडिकल कलेजलाई विस्तारित कार्यक्रमको नाममा चोरबाटोबाट सम्वन्धन दिने लगायतका थुप्रै प्रकरणहरुमा अख्तियार प्रमुखको संलग्नता रहेको दावी गरेका छन् ।

उनले भने, ‘महाभियोग लगाएर हटाइएन भने सांसदहरुलाई भन्छु– म फेरि सत्याग्रह(अनसन) गर्छु ।’



Previous
Next Post »