श्रावण २४, २०७३- कांग्रेसको भ्रातृ संस्था नेविसंघको आज हुने भनिएको बन्द सत्र स्थगित भएको छ ।
विशेष कारणवश बन्दसत्र स्थगित गरिएको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिएका छन् । उनको अनुसार बन्दसत्र भोली २ बजे हुने छ ।
आफूअनुकूल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरूबीच नै आरोप–प्रत्यारोपमा उत्रिएसँगै नेविसंघको महाधिवेशनमा विवाद भइरहेको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधिको विवादलाई लिएर पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच आरोप–प्रत्यारोप भइरहेको छ ।
भृकुटीमण्डपमा आइतबार सुरु संघको एघारौं महाधिवेशन उद्घाटन समारोहमै शीर्षस्थ नेताहरूबीच आरोप–प्रत्यारोप चलेपछि सोमबार बिहानबाट सुरु हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको थियो ।
महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भए पनि ११ जिल्लामा भागबन्डाका आधारमा मिलाउने प्रयास भएपनि प्रतिनिधि विवाद मिल्न सकेको छैन । सिटौला पक्षले भने महाधिवेशन भएका ६४ जिल्लामध्ये अधिकांशमै संस्थापन पक्ष र पौडेल पक्षबीच भागबन्डा आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
सिटौला पक्षीय विद्यार्थी समूह यही विषयलाई लिएर आमरण अनशनमा बस्दै आएका छन् । महाधिवेशन उद्घाटन कार्यक्रम सुचारु हुँदासमेत नेतृत्वले आमरण अनशनमा बसेका विद्यार्थीको आवाजलाई नसुनेको आरोप सिटौला पक्षको छ । साता अघिदेखि आमरण अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर भएपछि शनिबार बिहानदेखि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
पौडेल पक्ष भने ६४ जिल्लामा विधिसम्मत रूपमा अधिवेशन भएको र त्यसलाई ‘उधिनेर’ प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित बनेको हो । ११ जिल्लामा अधिवेशन नगरेर आफूअनुकूल प्रतिनिधि छनोट गर्न थालिएको आशंकासमेत यो पक्षले गरेको छ ।
पार्टीका शीर्षस्थ नेताहरूबीच नै आरोप–प्रत्यारोप चलेपछि निर्वाचनबाटै नेतृत्व छनोट हुनेमा शंका उब्जेको छ । नेविसंघमा अहिलेसम्म बनेका १७ अध्यक्षमध्ये १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् । सात वटा नेतृत्व माउ पार्टीको हस्तक्षेपमा चयन भएका हुन् ।
ConversionConversion EmoticonEmoticon