![]() |
भाद्र १, २०७३- कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य बराबरको टर्किस एयरलाइन्सको डिसेवल एयरक्राफ्ट (आयोग्य विमान) लाई नेपालमै बिक्रि गरिने भएको छ ।
मर्मत गरेर उडाउन नमिल्ने उक्त विमानमा भएका काम लाग्ने उपकरण धमाधम निकाल्ने कार्य भइरहेको छ । यसकालागि टर्किसकै भातृ कम्पनी टर्किस टेक्निकका १२ जना एयरोनोटीकल इन्जिनियर गत बुधबारदेखि काठमाडौंमा छन् ।
‘१५ दिनको टार्गेट दिइएको छ,’ स्रोतले भन्यो, ‘उतैबाट दिइएको यो लक्ष्यको समयसीमाभित्र रहेर इन्जिनियरहरुले उपकरण झिक्दै छन् । कामलाग्ने उपकरण झिकिसकेपछी आल्मुनियमले बनेको विमानको बडी (बाहिरी भाग) लिलाम गरिने छ ।
‘काम लाग्ने उपकरण झिकिसकेपछि नेपाली बजारमा चलेको आल्मुनियमको प्रति किलोग्राम दरमा बडी लिलाम गरिने स्रोतले बतायो । काठमाडौंको ह्यात होटलमा बसिरहेका टर्किसका प्राविधिकहरुले विमानबाट झिकेका उपकरण टर्किसकै विमानबाट इस्तानबुल पठाइरहेका छन् । जहाजको कार्गो कम्पार्टमेन्टमा नअटाउने उपकरण लिन छुट्टै कार्गो विमान काठमाडौं ल्याइने भनिएको छ ।
मूल्यवान पार्टपूर्जा विमानबाट निकाल्दै इन्जिनियरहरुले त्यही नजिकै रहेको यती एयरलाइन्सको ह्यांगर (विमान मर्मत गर्ने घर) मा थन्काउने गरेका छन् । यसकालागि काठमाडौंमा रहेको टर्किस एयरलाइन्सको कार्यालयले यतीको ह्यांगर भाडामा लिएको हो । विमानका दुइटा इन्जिन जहाज दुर्घटना भए लगत्तै झिकेर इस्तानबुल पठाइ सकिएको छ ।
‘जहाजका सबै सिट, फलाइट इन्टरटेनमेन्ट टुल्स, क्याबिन, ढोका, उपकरण इस्तानबुल पठाउने छौं, खोक्रो बडी मात्रै लिलाम गर्ने छौं,’ एक कर्मचारीले भने । एयरबस कम्पनीको यो विमान करिब ४ सय यात्रु क्षमता छ । यो विमान खरिद गर्न थुप्रै नेपाली व्यवसायीहरुले इच्छा देखाएका छन् ।
‘रेष्टुराँ, क्याफे चलाउँछु जहाज बिक्रि गर्नुपर्यो भनेर धेरै फोन आएका छन्, तर इन्जिनियरहरुले काम सकेपछी मात्रै हामी लिलामको प्रक्रिया थाल्ने छौं,’ ती कर्मचारीले भने ।
नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान बिमा गर्ने बेलायती कम्पनीबाट बिमा दाबी रकम लिई पुन बिमा कम्पनीबाट यो विमान खरिद गरेको हो । टर्किस मातहतकै प्राविधिक कम्पनीले स्वामित्व लिएपछि टर्किसले काम लाग्ने उपकरण उतै लिने निर्णय गर्दै जहाजको खोक्रो बडी नेपालमै लिलाम गर्ने निणर्य गरेको स्रोतले बतायो ।
हाल यसले नागरिक उडड्यन प्राधिकरणलाई प्रति ६ घन्टाका दरले पार्किङ्ग शुल्क तिर्दै आएको छ । यस्ले पार्किङ्ग शुल्कको २५ प्रतिशत मात्रै रकम तिर्नुपर्छ । यस्ले अहिले दैनिक ५ सय ५० डलरका दरले नागरिक उड्डयन प्राधिकरणलाई पार्किङ्ग शुल्क तिरीरहेको छ । यसले दुई महिनाअघि १ लाख ३५ हजार डलर पार्किङ्ग शुल्कमात्रै प्राधिकरणलाई तिरेको थियो ।
इस्तानबुलबाट काठमाडौं आएको यो विमान अवतरणका क्रममा ०७१ फागुन २० गते धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।
टर्की नेपालमा सबैभन्दा ठूलो आकारको जहाज उडाउने मध्येको एयरलाइन्स हो । यसले इस्तानबुल (काठमाडौं–इस्तानबुल) उडानमा एयरबसको ए–३३० सिरिजको जहाज उडाउँछ । इस्तानबुलमा मुख्यालय रहेको टर्किसले विश्वका १ सय १६ मुलुकमा उडान भर्छ ।
![]() |


ConversionConversion EmoticonEmoticon