![]() |
भाद्र १०, २०७३- नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले दुवै छिमेकी मुलुकको संवेदनशीलतामा ध्यान दिँदै विश्वासिलो सम्बन्ध बनाएर राष्ट्रहितमा काम गर्न आवश्यक रहेको बताएका छन् । उनले परराष्ट्र मामिलामा नेपालको छवि केही समयदेखि खस्किएको उल्लेख गर्दै यसलाई सबल बनाउन आफू लागिपर्ने जनाएका छन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै मन्त्री महतले छिमेकसँगको सम्बन्ध सुधार, विदेशमा रहेको नेपालीको सुरक्षा र असंलग्न विदेश नीति प्रवद्र्धनमा आफ्नो जोड रहने बताए । ‘कर्मचारीहरूबाट मैले रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा राखेको छु,’ परराष्ट्रबाट नियमित बुलेटिन प्रकाशित गर्ने निर्णयसम्बन्धी फाइलमा हस्ताक्षर गरेपछि उनले भने, ‘कुनै मुलुकलाई आशंका गर्ने ठाउँ नदिइकन मुलुकको हितका लागि कार्ययोजना बनाएर अघि बढ्न जरुरी छ ।’
मित्रराष्ट्रसँग ‘स्पेसिफिक’ कूटनीतिक सम्बन्धलाई जोड दिने सोचका साथ आफूले जिम्मेवारी लिएको स्पष्ट पार्दै मन्त्री महतले भने, ‘छिमेकसँगको सम्बन्ध थप सन्तुलित बनाएर अघि बढ्न आवश्यक छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै छिमेकमा विशेष दूत पठाएर सम्बन्धलाई विशेष जोड दिएको अवस्थामा मेरो बटमलाइन पनि त्यही हुनेछ ।’ छिमेकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत बनाउन सबैले उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिधै पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री महतले दुवै छिमेकी र अन्य मुलुकसँग विश्वासको सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय समुदायमा गुम्दो छवि उच्च पार्न पर्ने प्रतिबद्धता पनि जनाए । ‘विशेषत: चीन र भारतसँगको सम्बन्धलाई लिएर हामीकहाँ गम्भीर बहस भइरहेका छन् । दुवै मित्रराष्ट्रसँग उत्कृष्ट र विश्वासिलो सम्बन्ध स्थापित गर्नु राष्ट्रहितमा हुनेछ । र, अन्य मुलुकसँग पनि त्यसैका आधारमा सम्बन्ध बिस्तार हुनुपर्छ,’ उनले भने । उनले आफ्नो चुनौती भनेकै विश्व सम्बन्ध कसरी अघि बढाउने भन्ने रहेको जनाउँदै त्यसलाई सूक्ष्म सम्बोधन गर्ने प्रयास गर्ने बताए ।
दुई छिमेकी मुलुकबाट उच्चस्तरको भ्रमण तयारी भइरहेकाले यसलाई राष्ट्रहितमा उपयोग गर्न मिलेर काम गर्नुपर्ने मन्त्री महतले बताएका छन् । उच्चस्तरीय भ्रमणले द्विदेशीय सम्बन्धमा नयाँ आयाम थप्न सक्ने उनको भनाइ थियो । उनले दूतावासको काम चुस्त हुनुपर्नेमा जोड दिँदै काम नभएर बसेका राजदूतलाई सक्रिय बनाउन आफू लाग्ने बताए । ‘एउटा मन्त्रीको कार्यकाल सफल या असफल हुने कुरा भन्दा पनि विदेश नीति कत्तिको सफल हुन्छ भन्ने महत्त्वपूर्ण हो,’ उनले भने, ‘म त्यसैमा केन्द्रित भएर काम गर्छु ।’
उनले खाडी मुलुकमा रहेका नेपाली दूतावासलाई कामदारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षा र उनीहरूको हित दूतावासको पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए । उनले कुनै पनि मुलुकमा राजदूत खाली नराख्ने बताउँदै भने, ‘सबै मुलुकमा राजदूत नियुक्ति प्रक्रिया तत्काल अघि बढ्छ ।’
२०१६ सालमा नुवाकोटको कविलासमा जन्मिएका महतले यसअघि राज्यमन्त्रीका रूपमा परराष्ट्र मन्त्रालय र मन्त्रीका रूपमा ऊर्जा मन्त्रालय सम्हालेका थिए । १३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन आरम्भ गरेका उनी नेविसंघमा महामन्त्रीसम्म भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट र अमेरिकाको युनिभर्सिटी अफ इलिनियसबाट फुलब्राइट छात्रवृत्तिमा अर्थशास्त्रमा स्नातकोत्तर र त्यसलगत्तै विद्यावारिधि गरेका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon