Deuba-Oli videsagaepachi Madhesi Front severe phakaudai

दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटक जसरी पनि परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहो-याउदै आएका छन् । रिवन काट्न र उदघाटन गर्ने काममा नलाग्ने बताउदै आएका प्रचण्डले सुधारको लागि दैनिक एउटा निर्देशन दिने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुधारको आशा जगाउने काम अगाडि बढाएका छन् । तर समय र परिस्थिति प्रचण्डको लागि त्यति सहज छैन् । हरेक पाइला प्रचण्डको लागि चुनौतिपूर्ण छ । संविधान कार्यान्वयन, भुकम्पपछिको पुननिर्माण, मधेसवादी दलरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधन र स्थानीय निकायदेखि केन्द्रीय तहसम्मको निर्वाचन गर्ने गह्रौ जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा रहेको छ ।


परिणाम निकाल्नको लागि उनले सिंहदरवारमै रहेर नीति योजना र कार्यक्रम मार्फत स्रोत साधनलाई परिचालन गर्ने काम गरिरहेका छन् । प्रधानमन्त्री भएको तीन सातापछि सरकारलाई पूर्णता दिएका प्रचण्डले बाँकी रहेको आठ महिनामा परिणाम निकाल्नु पर्ने समयसीमा छ । परिणाम निकाल्नको लागि प्रमुख राजनीतिक दलरुबीच सहमतिको खाँचो रहेका बेला सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली स्वास्थ्य उपचारको लागि भन्दै विदेश गएका छन् । प्रमुख दलका दुई शीर्ष नेताको अभावमा प्रधानमन्त्री प्रचण्ड भने मधेसी मोर्चालाई फकाउने काममा लागेका छन् ।


संविधान संशोधनमा अड्चन
तीन बुँदे सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र संविधान संशोधनको विधेयक संसदमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार गठन भएको तीन साता वितिसक्दा समेत सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकेको छैन् । यस पटक मधेसी मोर्चाले संविधान संशोधनको विधेयक संसदमा लैजानु भन्दा पनि सरकारको नेतृत्व गरिरहेको माओवादी र सत्तासाझेदार दल नेपाली कांग्रेससँग विश्वासको प्रतिबद्धाता खोजेका छन् । संविधान संशोधनको औपचारिकता पुर्याउनु भन्दा पनि निकष्र्षमा नपुर्याउनुजेल सम्म मधेसी मोर्चाको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् । प्रधानमन्त्री प्रचण्डले तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउनको लागि प्रमुख राजनीतिक दलहरुबीच संवाद गर्ने तयारी गरेको बेला प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली दुई साताको लागि वैंकक गएको भोली पल्ट नै कांग्रेस सभापति देउवा पनि सिंगापुर प्रस्थान गरेका छन् ।

मधेसी मोर्चालाई बिच्क्याउने दाउमा ओली
दस महिना सरकारको नेतृत्व गर्दा ओलीले मधेसी मोर्चासँग ३६ पटक भन्दा बढी वार्ता गरे । तर पनि मधेसी मोर्चा र सरकारबीच कुनै सहमति भएन । ओली नेतृत्वको सरकार ढाल्नको लागि माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा तीन बुँदे सहमति गर्दै प्रचण्डलाई मतदान गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि मोर्चाले तीन बुँदे सहमति र आफूहरुले उठाउदै आएको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राख्दै आएको छ । तीन बुँदे सहमति अनुसार मधेसी मोर्चाले प्रचण्डलाई भोट हालिसकेका छन् । सरकारले पनि दोस्रो बुँदा कार्यान्वयन गरिसकेको छ । सहिद घोषणा मुद्धा फिर्ता, घाइतेहरुको उपचार आन्दोलनको क्रममा घटेका घटनाको छानविन गर्न समिति लागयको माग पूरा गरिसकेको छ । तीन बुँदे सहमतिको एक नम्बर कार्यान्वयनको चरणमा छ । संविधान संशोधन मार्फत सीमाकंन लगायतको माग सम्बोधन गर्ने तीन पक्ष कांग्रेस माओवादी र मधेसी मोर्चाबीच सहमति भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सीतादेवी यादव एक मात्र महिला मन्त्री
संविधान संशोधन गर्नको लागि एमालेको साथ चाहिन्छ । दुई तिहाई बहुमत एमालेको सहभागीता विना सम्भव छैन । संविधान संशोधन गर्नको लागि एमालेसँगको परामर्श आवश्यक हुन्छ । यस्तो बेला ओली दुई साताको लागि विदेश हानिएका छन् । ओलीको अनुपस्थितिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउदा एमाले झन विच्कने भय प्रचण्डलाई छ । ओलीले सरकारले एकतर्फी रुपमा प्रक्रिया अगाडि बढाए आफूहरुको लागि विरोध गर्ने गतिलो मसला हुने योजनामा रहेका छन् । सरकारले समयमा नै संविधान शंसोधनको प्रक्रिया अगाडि नबढाए प्रचण्डसँग मोर्चालाई चिढ्याउने दाउमा ओली रहेका छन् ।



मधेसी मोर्चालाई फकाउदै प्रचण्ड
एक सातादेखि मधेसी मोर्चाले दैनिक रुपमा संविधान संशोधनको प्रक्रिया किन अगाडि बढ्न सकेन भनेर प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरिरहेका छन् । केही दिन अघिको मोर्चाको बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनको लागि सरकारलाई दबाब दिने बताएको थियो । शुक्रवार प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको शीर्ष नेताहरुसँग छलफल गरेर फकाउने कोशिस गरेका छन् । प्रचण्डले आफू मोर्चाको माग पूरा गर्न प्रतिबद्ध रहेको र सहमति अनुसार काम पनि अगाडि बढाएको विश्वास दिलाउदै कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली विदेशबाट फर्काएपछि मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने बताएका छन् । सिंगापुर जानु अघि शुक्रवार प्रचण्ड र देउवाबीच भएको छलफलमा पनि एमालेसँग छलफल गरेर मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने सैद्धान्तिक सहमति भएको थियो । मधेसी मोर्चाले नेपालको संविधान संशोधन गर्नको लागि भारतमा छलफल भएको बारेमा प्रचण्डको ध्नाकर्षण गराएका थिए ।
Previous
Next Post »