Indigenous student holding open only foreigner!


भाद्र १२, २०७३- काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएस अध्ययन गर्न चाहने स्वदेशी विद्यार्थीलाई फाराम वितरण रोकेर विदेशीलाई मात्रै खुल्ला गरेको छ । विदेशी विद्यार्थीलाई अग्रिम बुकिङ गरेर चर्को शुल्क असुल्न पाउने भएपछि विश्वविद्यालयले स्वदेशीलाई कम प्राथमिकतामा राखेको हो ।

विश्वविद्यालयले एमबीबीएस अध्ययन गर्न चाहने विदेशी विद्यार्थीले प्लस टुको मार्कसिट र नागरिकता भदौ २४ सम्म पठाइसक्न सूचना जारी गरेको छ । यसअघि प्लस टुको साइन्सको नतिजा सार्वजनिक भएलगत्तै स्वदेशी र विदेशी विद्यार्थीका लागि प्रवेश परीक्षाको फारम खुला गथ्र्यो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेपछि फारम वितरण खुला गरिसकेको छ । आईओएमले भदौ २५ र २६ मा परीक्षा लिँदैछ ।

केयूले भने स्वदेशी विद्यार्थीलाई फारमसमेत खुलाएको छैन । विदेशीलाई भने धमाधम मार्कसिट इमेल गर्न भन्दै सूचना जारी गरेको छ । विदेशीलाई मात्रै प्राथमिकता राखेर फाराम खुला गर्नु विश्वविद्यालयको नियत प्रस्ट हुने काउन्सिल स्रोतको भनाइ छ ।

विदेशी विद्यार्थीले बाहिरबाट डकुमेन्ट पठाउने भएकाले प्रि–इन्फर्म गरेका मात्रै हौं, स्वदेशीलाई अन्याय गर्दैनौं
-राजेन्द्र कोजू
सहायक डिन
विदेशी विद्यार्थीका लागि निकालेको सूचनामा पनि प्रवेश परीक्षाको मिति तोकिएको छैन । सूचनामा भनिएको छ, ‘योग्य उम्मेदवारलाई प्रवेश परीक्षाको जानकारी भदौ अन्तिममा जानकारी गराइनेछ ।’ काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका सहायक डिन राजेन्द्र कोजूले अर्को साता प्रवेश परीक्षाको फाराम वितरणको सूचना जारी गरिने बताए । दसैंअघि विद्यार्थी भर्ना गरिसक्ने योजना बनाएको उनले बताए । मेडिकल काउन्सिलले सिट निर्धारण नगरी कति विद्यार्थी भर्ना लिने भन्ने अन्योल हुन सक्ने भएकाले फाराम वितरण ढिलाइ गरेको उनको भनाइ छ ।

‘कति विद्यार्थी भर्ना लिने भन्ने यकिन भएको छैन,’ कोजूले भने, ‘परीक्षा लिएर अन्योल हुनुभन्दा ढिला गर्नु ठीक ठान्यौं ।’ काउन्सिलको बैठक नबस्दा पूर्वाधार निरीक्षणसमेत हुन सकेको छैन । ‘निरीक्षण त हुन सकेको छैन,’ काउन्सिल स्रोतले भन्यो, ‘सिट निर्धारण त अनिश्चित छ ।’ सरकारले एउटा मेडिकल कलेजमा बढीमा १ सय १५ भन्दा बढी विद्यार्थी भर्ना लिन नपाउने गत वर्ष निर्णय गरिसकेको छ ।

विदेशी विद्यार्थीलाई मात्रै प्रवेश परीक्षाको फाराम खुला गरेर स्वदेशीलाई विभेद गरिएको विद्यार्थीको गुनासो छ । ‘विदेशी विद्यार्थीसँग अग्रिम बुकिङ गरेर पैसा लिने गर्छन्,’ मेडिकल काउन्सिलका एक सदस्यले भने, ‘स्वदेशीसँग सरकारले तोकेको रकमको पनि निश्चित रकम मात्रै लिन पाइन्छ ।’ स्वदेशी र विदेशी विद्यार्थीमा विभेद नगरिएको कोजूले दाबी गरे । ‘विदेशी विद्यार्थीले बाहिरबाट डकुमेन्ट पठाउने भएकोले प्रि–इन्फर्म गरेको मात्रै हो,’ उनले भने, ‘स्वदेशी विद्यार्थीलाई हामी अन्याय गर्दैनौं ।’

विदेशी विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिने भनिए पनि उनीहरूले चर्को शुल्क तिर्ने भएकाले परीक्षा देखावटी मात्रै हुने काउन्सिलका एक सदस्यले आरोप लगाए । विदेशी विद्यार्थी भाँडिने भएपछि उनीहरूका लागि चाँडो फाराम खुला गरेको एक कलेज सञ्चालकले बताए । ‘उनीहरूलाई बेलैमा लिन सकिएन भने विदेशी विद्यार्थीको कोटामा नेपाली भर्ना गर्नुपर्ने हुन्छ,’ ती सञ्चालकले भने ।

केयूअन्तर्गत मनिपाल कलेज अफ मेडिकल साइन्स पोखरा, कलेज अफ मेडिकल साइन्स भरतपुर, नेपालगन्ज मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज काठमाडौं, नेपाल मेडिकल कलेज (नोबेल), लुम्बिनी मेडिकल कलेज पाल्पा, विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रूपन्देहीमा एमबीबीएस पढाइ हुन्छ । यी कलेजले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराए भर्ना कोटाको एक तिहाइ विदेशी विद्यार्थी भर्ना गर्न पाउँछन् । केयूले स्वदेशी विद्यार्थीका लागि फाराम खुला ढिलाइ गर्नुमा शुल्क निर्धारणको कारण पनि देखाएको छ ।

Previous
Next Post »