Myagdi pariksanasvarupa plant is planted in the first


तामाङ समुदायको आदिथलो काभ्रेको समृद्धि र तामाङ समुदायको पूर्खाको आशिर्वादका रुपमा मानिने बुद्धचित्त माला पछिल्लो समय तिमाल क्षेत्रका कृषकहरुको आम्दानीको राम्रो स्रोत बन्दै आएको छ । एउटै बोटबाट एकै सिजनमा ६० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने भएपछि बुद्धचित्त मालाप्रति सबैको ध्यान आकर्षित भएको छ । नेपालमा मात्र पाइने वनस्पतिका रुपमा पहिचान बनाएको बुद्धचित्त माला काभ्रेको तिमाल क्षेत्रका १० गाविस र रामेछापका केही गाविसमा मात्र फल्ने विश्वास गरिन्छ । तर बुद्धचित्त मालाको फैलदो प्रचारसँगै म्याग्दीमा पनि पहिलोपटक परीक्षणस्वरुप बुद्धचित्त रोपण गरिएको छ ।

बुद्धचित्त विरुवा
बेनी नगरपालिका– ५ डम्बरामा बहुमुल्य बुद्धचित्त मालाका विरुवा रोपण गरिएको हो । म्याग्दीको सदरमुकाममा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार सुन्दर डम्बर टोल सुधार समितिसंग सहकार्य गरी शिव मन्दिरको गुठी आसपासका क्षेत्रमा ३५ वटा बुद्धचित्त विरुवा रोपण गरिएको हो ।
बुद्ध धर्मालम्बीहरू जप गर्दा प्रयोग गरिने पवित्र माला बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ । बुद्धचित्तको मालाबाट जप, ध्यान र मन्त्रोच्चारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने र अन्जानमा गरेको पाप काटिने र मृत्युपछि पनि देवलोक प्राप्त हुने विश्वास रहिआएको छ । अहिलेसम्म काभ्रे जिल्लाको तिमाल क्षेत्रका १० गाविस र तिमालसँग सीमा जोडिएको रामेछापका तीन गाविसमा मात्र बुद्धचित्त फल्ने विश्वास गरिन्छ । काभ्रेकै तिमाल क्षेत्र बाहेकका गाविसमा बुद्धचित्त माला फलेको पाइदैन । तर केही वर्ष यता बुद्धचित्तको कारोबार अस्वभाविक र लोभलाग्दो रुपमा वृद्धि भएपछि अन्य ठाउँ र जिल्लाका कृषकहरु समेत बुद्धचित्तको विरुवा रोपणमा लागेका छन् । यद्यपि अहिलेसम्म तिमाल क्षेत्र बाहेक अन्यत्र यो फल फलेको जानकारी भने आएको छैन ।
समुन्द्र सतहबाट ४ सय देखि २५ सय मिटरसम्म लगाउन सकिने बुद्धचित्त मालाका लागि म्याग्दी जिल्लाको जमिन तथा माटो समेत उपयुक्त रहेको विश्वासमा विरुवा रोपिएको हो । बुद्धचित्तको विरुवा लगाएको २ देखि ३ बर्षभित्र बर्षमा दुईपटक फल दिन्छ ।
चैत्र– बैशाख, साउन– भदौमा दुईपटक फुल्ने र असार–साउन र असोज–कात्तिकमा पाक्ने गर्दछ । एउटै रुखबाट लाखपती बन्न सकिने भएकाले रोपिएका विरुवाको संरक्षण गर्न डम्बराबासीले संरक्षण समिति समेत बनाएको सुन्दर डम्बरा टोल सुधार समितिका कृष्णबहादुर बानियाँले बताउनुभयो ।
नेपालमा उत्पादन भएका बुद्धचित्तकम दाना र मालाहरू चीन, जापान, भियतनाम, थाईल्याण्ड, कोरिया, भारत, अमेरिका, बर्मा लगाएतका देशमा निर्यात हुने गर्दछ । म्याग्दी जिल्लाको तल्लो क्षेत्रमा रातो माटो भएकाले पनि बेनी नगरपालिका साथै जिल्लाका धेरै क्षेत्रमा यसको सम्भावना रहेको विश्वासमा विरुवा रोपिएको बताइएको छ ।
Previous
Next Post »