Pashupati campus Heritage India agreed to rebuild


भाद्र ९, २०७३- भूकम्पमा क्षतिग्रस्त बनेका पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिन सरोकार निकायमा सहमति जुटेको छ ।

पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो । त्यसअनुसार झन्डै १ अर्ब ४० करोड रुपैयाँ बराबर खर्च हुने भनिएको पशुपति क्षेत्रको सम्पदा जीर्णोद्धार प्रक्रिया अघि बढाउन अब अर्थ र परराष्ट्र मन्त्रालयले तदारुकता देखाउनुपर्ने छ । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जीर्णोद्धार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई वर्षअघि पशुपतिनाथ भ्रमणमा आएका बेला यो क्षेत्रको विकासमा दिने भनिएको २५ करोड रुपैयाँको सहयोग राशिसमेत अब कार्यान्वयनमा आउने योजनामा खर्च गरिने जनाइएको छ ।

जीर्णोद्धारसम्बन्धी कूटनीतिक र आर्थिक सहमतिका प्रक्रिया टुंगो लाग्नासाथै भदौ अन्तिम साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा अन्तिम सम्झौता हुन सक्ने पुरातत्त्वका एक अधिकारीले बताए । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति परिसरका बासुकी मन्दिर, कोटी लिंगेश्वर, कुलानन्द झा सत्तल, सप्तमी सत्तल, महास्नान घरसहितका सम्पदा जीर्णोद्धार गरिनेछन् । भूकम्प अघि र पछिका सम्पदाको जीर्णोद्धार लेखाजोखा गर्दा यसको लागत २ अर्ब रुपैयाँभन्दा बढी हुन सक्नेबारे पनि छलफल चलिरहेको उनले बताए ।

यसबाहेक काठमाडौंको सेतो मच्छिन्द्रनाथ, पाटनको भीमसेन मन्दिर तथा पाटनकै अदालत भवन पुनर्निर्माण गर्न भारतलाई दिनेबारे सहमति बनेको छ । यसबारे पनि आधिकारिक सहमति पत्रमा चाँडै हस्ताक्षर हुने भएको छ ।

महानिर्देशक दाहालका अनुसार छिमेकी चीनले पनि नेपालका प्रमुख सम्पदाको जीर्णोद्धार वा पुनर्निर्माणका लागि अग्रसरता देखाएको छ । चीनले वसन्तपुरको नौतले दरबार (चार बुर्जा), नुवाकोटको साततले दरबार, तलेजु मन्दिर, गारथ घर, रंगमहललगायत जीर्णोद्धार गर्ने भएको छ । यसबारे अर्थ मन्त्रालयसँग सम्झौता भइसकेको छ । यसबारेको आर्थिक प्रस्ताव दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ । यो योजनाको बजेटबारे अहिले आकलन गरिएको छैन ।

श्रीलंकाले पनि बुङमतीस्थित रातो मच्छिन्द्रनाथको जीर्णोद्धार र स्वयम्भूको आनन्दकुटी बिहार जीर्णोद्धार गर्ने सहमति जुटेको छ । रातो मच्छिन्द्रनाथका लागि ५ करोड र आनन्दकुटी बिहारका लागि २० करोड रुपैयाँ खर्चने भनेर निर्णय आइसकेको महानिर्देशक दाहालले जानकारी दिए । यी दुवै काम पुरातत्त्व विभागको सुपरिवेक्षणमा कार्यान्वयन हुँदैछ । अर्को विश्व सम्पदा क्षेत्र चाँगुनारायणमा रहेको सत्तलसहित तिलेश्वर महादेव तथा पुजारी मठलाई पुरानै सम्पदा स्वरूपमा पुनर्निर्माण गर्न जर्मनी सरकार सहमत भएको छ ।

जर्मनीले भूकम्पमा क्षति बेहोर्ने भक्तपुर क्षेत्रका ६ वटा सरकारी स्कुल समेतको पुनर्निर्माण गरिदिने भएको छ । स्विस सरकारले पनि साँखुको एउटा सत्तलसहित दोलखाको त्रिपुरासुन्दरीको मन्दिर जीर्णोद्धारमा चासो देखाएको छ । तर, यसबारे अर्थ मन्त्रालयबाट सहमति आउन बाँकी छ । अमेरिकी सरकारअन्तर्गत राजदूतका नाममा रहेको सम्पदा संरक्षण कोषले बागेश्वरी मन्दिर (तलेजु अगाडि), कृष्ण मन्दिर, शंकरनारायण, चारनारायण, भाइदेगलगायत सम्पदा जीर्णोद्धारका लागि अनुमति पाइसकेको छ ।

हनुमानढोकाको गद्दी बैठक जीर्णोद्धारमा जापानी विज्ञ एवं परामर्शदाता मियामोतोले अध्ययन गरिरहेका छन् । यसमा जापानले सहयोग गर्ने भएको छ । ‘हामीले भूकम्पका कारण संकटमा परेका वा क्षतिग्रस्त मुख्य प्रभावित १४ जिल्लाका सम्पदाको पहिचान गरेका छौं,’ महानिर्देशक दाहालले भने, ‘हामीले विभिन्न १ सय ४५ सम्पदा जीर्णोद्धार वा पुनर्निर्माणमा स्वीकृति तथा सहमतिका लागि पुनर्निर्माण प्राधिकरणमा प्रस्ताव पठाएको धेरै भइसकेको छ । तर अन्तिम निर्णय आउन सकेको छैन ।’ यो कामका लागि २ अर्ब ४० करोड रुपैयाँ बजेटको माग गरिएको समेत दाहालले जानकारी दिए ।



Previous
Next Post »